
जापानमा घरेलु मोबाइल सेवा प्रदायक कम्पनी राकुटेन मोबाइल इंकमा घोटला गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
टोकियो प्रहरीले २ अर्ब ५० करोड येन ठगीको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी विभागले राकुटेन मोबाइलको लजिष्टिक व्यवस्थापन विभागका प्रमुख ४६ वर्षीय युकी सातो, निप्पोन लजिष्टेक कर्पोरेशनका पूर्व प्रबन्ध निर्देशक ५३ वर्षीय काजुनारी मिचुहाशी र यातायात कम्पनी ट्रेलका अध्यक्ष ४९ वर्षीय ओसामु हामानाकालाई पक्राउ गरेको हो ।
उनीहरुले मोबाइल फोन बेस स्टेशन बनाउँदा राकुटेन मोबाइलसँग बारम्बार बढी पैसा असुलेको आशंका गरिएको छ । कम्पनीसँग करिब ३० अर्ब येन ठगेको हुन सक्ने आशंका गरिएको छ ।
सन् २०१९ यता संदिग्धहरुले बारम्बार राकुटेनसँग बढाई ठेक्कापट्टाको शुल्क असुलेको देखिएको छ ।
यो घटना सार्वजनिक भएपछि राकुटेन मोबाइलका प्रतिनिधिहरुले माफी मागेका थिए । ठगीको केही रकम सातोको श्रीमतीको कम्पनीको खातामा हालिएको आशंका गरिएको छ ।