तीन वर्षपछि पहिलो विदेशी क्रुज शिप जापान आइपुग्यो

कोरोना भाइरसको महामारीपछि पहिलो पटक जापानी बन्दरगाहमा विदेशी क्रुज शिप आइपुगेको छ ।

कोरोनाका कारण सरकारले लगाएको लामो प्रतिबन्धपछि शिजुओका प्रान्तको बन्दरगाहमा आइपुगेको यो पहिलो विदेशी क्रुज शिप हो ।

मध्य जापानको शिजुओकाको शिमिजुस्थित बन्दरगाहमा क्रुज शिप अमाडिया आइपुगेको हो । सन् २०२३ मा जापानमा आउने २१२ शिपमध्ये यो पहिलो हो ।

जर्मन फर्म फिनिक्स रिसेन जीएमबीएचद्वारा सञ्चालित अमाडिया करिब ५ सय यात्रु र ३ सय जना चालक दलका सदस्यहरुसहित बिहान ८ बजे आइपुगेको हो । सो जहाजलाई स्थानीय क्षेत्रका केही संगीतकारसहित टाइको ड्रमसहित स्वागत गरिएको थियो ।

स्वास्थ्य जाँच पूरा भएपछि ९ बजेदेखि यात्रुहरु मास्क लगाएर जहाजबाट ओर्लिएका थिए ।

२९ सय टनको जहाज नर्थ मारियानाको साइपानबाट हिँडेको थियो । बुधबारराति नै सो जहाज टोकियोतर्फ लागेको छ ।

सन् २०१९ मा महामारीको सुरुवातअघि जापानमा १ हजरा ९३२ जहाज पोर्टका लागि आएका थिए । जसले ल्याएका २० लाख भन्दा बढी पर्यटकले ८० बिलियन येनभन्दा बढी खर्च गरेका थिए ।

जापान सरकारले गत नोभेम्बरमा क्रुज शिपका लागि बन्दरगाह फेरि खोल्ने निर्णय गरेको थियो ।

युरोप र उत्तर अमेरिकी देशले जुन २०२१ मा नै क्रुज यात्रीका लागि खुला गरेपछि जापानले आफ्नो बजार गुमाउनसक्ने चिन्ताबीच बन्दरगाह खोल्ने निर्णय गरेको हो ।

डायमण्ड प्रिन्सेसमा कोरोना भाइरसका धेरै संक्रमित पाइएपछि सन् २०२० मा विदेशी क्रुज शिपको स्वीकृति निलम्बित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?