
जापानी प्रधानमन्त्री फुमियो किशिदा सुटुक्क युक्रेन भ्रमणमा जानसक्ने जापानी अधिकारीहरुले जनाएका छन् ।
गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले सुटुक्क युक्रेन भ्रमण गरेको शैली अपनाउदै किशिदा पनि किभ पुग्नसक्ने सम्भावना बढेको हो ।
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले किशिदाले युक्रेन भ्रमण गर्नसक्ने जनाएको छ । सुरक्षाका कारण उनको भ्रमण गोप्य राखिनेछ ।
जापानका प्रधानमन्त्रीले विदेश भ्रमणअघि आफ्नो भ्रमणको कार्यक्रमबारे संसदमा प्रस्तुत गर्ने वा कार्यतालिकाबारे जानकारी गराउने गर्छन् ।
लिबरल डेमोक्रेटिक पार्टीका संसदीय मामिला समितिका प्रमुख ताकागी सुयोशीले प्रधानमन्त्री युक्रेन जाने अवस्थामा सुरक्षालाई ध्यान दिँदै सदनले विचार गर्नुपर्ने जनाएका छन् ।
किशिदाले हिरोसिमामा हुने जी–७ राष्ट्रको शिखर सम्मेलनअघि नै युक्रेन भ्रमण गर्नसक्ने जनाइएको छ ।