
जापानको शिजुओका प्रिफेक्चरमा धातुको विशाल बल भेटिएको छ । करिब डेढ मिटर ब्यास भएको एउटा धातुको विशाल बल भेटिएको हो ।
हामामाचु शहरको प्रशान्त तटमा पानीले बगाएर ल्याएको अवस्थामा उक्त वस्तु भेटिएको हो ।
यो के हो भन्ने प्रष्ट भएको छैन । स्थानीय बासिन्दाले २१ फेब्रुअरीमा हामामाचुको निशी वडाको इनशुहामा तटमा ठूलो, गोलो वस्तु देखेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको बम निस्क्रिय पार्ने एकाईले सो शंस्कास्पद वस्तु एक्स–रे गरेर हेरेका थिए ।
सो क्रममा सो बल भित्र खोक्रो रहेको र पड्किने खतरा नभएको पाइएको छ । हामामाचु निशी प्रहरी थानाका अनुसार बलको सतह खिया लागेर खैरो छ ।
बलको केही हिस्सा बालुवाभित्र गाडिएको छ । सावधानी अपनाउन प्रहरीले सो वस्तु वरपर सयौं मिटरमा पनि मानिसहरुलाई जान दिएका थिएनन् ।
अहिले सो प्रतिबन्ध भने हटाइएको छ । तर नजिक जान भने रोक लगाइएको छ ।
जापानमा बेलाबेला विश्व युद्धका बेलाका नपड्किएका बमहरु भेटिने गरेकाले हरेक यस्ता अज्ञात वस्तुहरुप्रति विशेष सावधानी अपनाउने गरिएको छ ।