जन्मदिनमा जापानी सम्राट नारुहितोले गरे पहिलो सार्वजनिक सम्बोधन

जापानी सम्राट नारुहितोले राजगद्दीमा बसेको चार वर्षपछि पहिलो पटक जन्मदिनका अवसरमा सार्वजनिक सम्बोधन गरेका छन् ।

कोभिड–१९ को महामारीका कारण उनले सन् २०१९ मा राजगद्दीमा बसेपछि सार्वजनिक सम्बोधन गर्न पाएका थिएनन् । सम्बोधनका उनले मुद्रास्फीति र महामारीसँग संघर्ष गरिरहेका जनतालाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘महामारी र बढ्दो महंगीका कारण धेरै जनताको दैनिक जीवनमा कठिनाइ भइरहेको छ’, उनले भने, ‘कमजोर स्थितिमा रहेका, वृद्ध, अपाङ्गता भएका, सहयोगको आवश्यकता परेका, गरिबीमा रहेका मानिसहरू र उनीहरूका सन्तानको भविष्यबारे सोच्दा मलाई पीडाबोध हुन्छ ।’

सम्राट नारुहितोले दरबारको बालकनीमा उभिएर आफ्नो जन्मदिन मनाउन मैदानमा भेला भएका हजारौं नागरिकको जयजयकार र शुभकामना स्वीकार गरेका थिए ।

उनले आफूले कमजोर मानिसहरुलाई विभिन्न क्षेत्रबाट भइरहेको सहयोगबाट आफू उत्साहित हुने गरेको पनि बताएका छन् । बाबु अकिहितोले गद्दीत्याग गरेपछि नारुहितो १ मे, २०१९ मा सम्राट बनेका हुन् ।

अकिहितो दुई शताब्दीमा राजगद्दी त्याग गर्ने पहिलो जापानी सम्राट हुन् । जन्मदिनका दिन जापानी सम्राटले सार्वजनिक रुपमा उपस्थित भएर सम्बोधन गर्ने परम्परा छ । तर कोरोना महामारीका कारण यो कार्यक्रम निलम्बित गरिएको थियो ।

जापानमा कोरोना नियन्त्रणका लागि लगाएका प्रतिबन्धहरु खुकुलो पार्ने र जनजीवन सामान्य अवस्थामा फर्काउने कोशिस भइरहेका बेला सम्राट नारुहितोले पहिलो पटक सम्राटको परम्परागत सम्बोधन गरेका हुन् ।

नारुहितोसँग उनकी श्रीमती महारानी मासाको, उनकी छोरी २१ वर्षीया आइको र उनका भाइ क्राउन प्रिन्स अकिशिनो र उनकी श्रीमती र छोरी मास्क लगाएर उपस्थित भएका थिए ।

शाही परिवारको जीवन व्यवस्थापन गर्ने इम्पीरियल हाउसहोल्ड एजेन्सीका अनुसार ६० हजारबाट छानिएर ५ हजारले राजाको सम्बोधनको सार्वजनिक कार्यक्रममा सहभागी हुने अवसर पाएका थिए ।

नारुहितोले भने, ‘पहिलो पटक जनतासामु मेरो जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको छ ।’ उनले आधाभन्दा बढी जीवन सँगै बिताउन पाएकोमा श्रीमती मासाकोको प्रशंसा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?