
जापानमा कोरोना भाइरसको संक्रमण भएको १८ महिनापछि पनि दुष्प्रभाव देखिएको पाइएको छ । एक शोध संस्थाका अनुसार हरेक ४ जनामा एक जना व्यक्ति कोरोनाको दुष्प्रभाव झेरिहेका छन् ।
राष्ट्रिय वैश्विक स्वास्थ्य एवं. चिकित्सा संस्थानले २०२० र २०२१ मा संक्रमित भएका ५०२ जनासँग सोधपुछ गरेको थियो ।
यसमा ३२.३ प्रतिशत मानिसलाई संक्रमणको ६ महिनापछिसम्म संक्रमणका दुष्प्रभाव देखिएको थियो भने एक वर्षपछि ३०.५ प्रतिशतमा दुष्प्रभाव देखिएको थियो । यो दर १८ महिनापछि पनि २५.८ प्रतिशत रहेको पाइएको छ ।
संक्रमणको एक वर्षपछि १२ प्रतिशतले स्मरणशक्तिमा कमी भएको, ११ प्रतिशतले एकाग्रतामा कमी र १० प्रतिशतले घ्राण समस्याको सामना गरेको बताएका छन् भने ९ प्रतिशतमा मस्तिष्कभ्रम पाइएको छ ।
संस्थानका अनुसार महिलाहरुमा गन्धको असामान्य अनुभूति, कपाल झर्ने र एकाग्रतामा कमीजस्ता समस्या देखिएका छन् ।