जापानका ८० प्रतिशत साना तथा मझौला व्यवसाय तलब बढाउने योजनामा

जापानका अधिकांश साना तथा मझौला व्यवसायहरु तलब बढाउने योजनामा भएको पाइएको छ ।

निजी कर्जा अनुसन्धान कम्पनी टोकियो शोले गरेको अनुसन्धानमा तलब बढाउने योजनामा रहेको पाइएको हो । अनुसन्धानमा ३ हजार ६५३ व्यवसायहरु सहभागी भएका थिए ।

सहभागीमध्ये ८० प्रतिशतले अप्रिलदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा तलब बढाउने योजनामा रहेको बताएका छन् । योमध्ये पनि ७६ प्रतिशतले वरिष्ठताका आधारमा तलब बढाउनेछन् ।

आधारभूत तलब बढाउँछु भन्नेको संख्या ४९ प्रतिशत छ भने ३६ प्रतिशतले बोनस बढाउने योजना सुनाएका छन् ।

एक वर्षअघि गरिएको अघिल्लो सर्वेक्षणमा ७० प्रतिशतले तलब बढाउने योजना भएको बताएका थिए । यीमध्ये ३२ प्रतिशतले आधारभूत तलब बढाउने भनेका थिए ।

यसपटक अहिले तलब बढाउँछु भन्ने र आधारभूत तलब बढाउँछु भन्ने दुबै गत वर्षको भन्दा धेरै छन् ।

तलब वृृद्धिबारे सोधिएको प्रश्नमा २९ प्रतिशतले ५ प्रतिशत वा सो भन्दा धेरै बढाउने बताएका छन् । अघिल्लो सर्वेक्षणमा यो स्तरमा तलब बढाउँछु भन्नेको संख्या ८ प्रतिशत मात्रै थियो ।

यसपटक ६१ प्रतिशतले भने २ देखि ५ प्रतिशतको बीचमा तलब बढाउने बताएका छन् । ९ प्रतिशतले भने २ प्रतिशतभन्दा कम वृद्धि गर्ने जनाएका छन् । सर्वेक्षणमा तलब बढाउँदिन भन्नेहरुलाई कारण पनि सोधिएको थियो ।

अधिकांशले कच्चा पदार्थको मूल्यवृद्धिका कारण तलब बढाउन नसक्ने बताएका छन् । वस्तु वा सेवाको लागत बढेको भएपनि बढेको लागत उपभोक्ताको काँधमा हाल्न नपाउँदा तलब बढाउन नसकेको बताउने पनि छन् ।

यो वर्षको तलब वृद्धिसम्बन्धी वार्तामा जापानको सबैभन्दा ठूलो श्रम संगठन रेंगोले पनि करिब ५ प्रतिशत तलब बढाउन माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?