
जापानले विशेष क्षमता भएका विदेशी जनशक्तिलाई सरल प्रक्रियाबाट भिसा दिने भएको छ ।
उन्नत व्यापार र व्यवस्थापनका क्षेत्र आवेदन दिनेलाई ५ वर्ष वा सोभन्दा बढीको रोजगारी रेकर्ड र वार्षिक ४० मिलियन येन आम्दानी भएमा जापानले ५ वर्षको भिसा दिने छ ।
विदेशी दक्ष जनशक्तिलाई जापानमा रोजगारी खोज्न सहज बनाउन मन्त्रीस्तरीय निर्णय भएको हो ।
जापानको अध्यागमन सेवा एजेन्सीद्वारा तोकिएको विश्व वरियता सूचीमा शीर्ष सयमा परेका विश्वविद्यालयबाट स्नातक गरेका विदेशीलाई ‘निर्दिष्ट गतिविधि’ भिसा दिइनेछ । जसबाट उनीहरूले जागिर खाँदै दुई वर्षसम्म बस्ने अवसर पाउनेछन् ।
सरकारले जनताको राय लिएर अप्रिलमा नयाँ पद्धति सुरु गर्ने लक्ष्य लिएको छ । भिसा प्रदान गर्न शैक्षिक, रोजगारी पृष्ठभूमि र वार्षिक आम्दानीसहितका योग्यतालाई आधार बनाइनेछ ।
विश्व बजारमा दक्ष जनशक्ति प्राप्त गर्ने होडबाजीबीच जापानले यस्तो निर्णय लिएको हो । सरलीकृत आवश्यकताअन्तर्गत ५ वर्षको भिसा प्राप्त गर्नेहरूले १ वर्षको बसोबासपछि स्थायी भिसा प्राप्त गर्न सक्नेछन् ।
हालका धारकहरूले ३ वर्षमा स्थायी भिसा प्राप्त गर्ने गरेका छन् । २०१२ मा सुरु गरिएको वर्तमान प्रणालीअन्तर्गत, गत वर्ष जुनसम्म ३४ हजार ७२६ जनाले ५ वर्षे भिसा प्राप्त गरेका थिए ।