टोकियो । जापानमै जन्मेका बालबालिकाले जापान स्थित नेपाली राजदूतावासबाट सहजै रुपमा राहदानी लिन पाउँछन् । त्यसका लागि जन्म प्रमाणपत्र, बच्चाको जाईरियु कार्ड, बाबु आमा दुबैको पासपोर्ट, नागरिकता र विवाह दर्ता प्रमाणपत्रका आधारमा पहिलोपटक राहादनी जारी गर्ने गरिन्छ ।
पहिलोपटक दिईएको राहदानीको म्याद ५ वर्षको हुने गर्छ । यदि सो ५ वर्ष भित्र समेत तपाईले नेपालमा बच्चाको जन्मदर्ता र नावालिग परिचय पत्र बनाउनुभएन भने पासपोर्ट नविकरणमा समस्या हुने गरेको छ ।
धेरै अभिभावकलाई यो विषयमा जानकारी नभएको पनि हुन सक्छ तर आफ्ना नानी बाबुको अनिवार्य रुपमा जन्म दर्ता र नावालिग परिचय पत्र लिनका लागि दूतावासले अपिल गरिरहेको छ ।
विद्युतीय राहदानी जारी गर्ने सम्बन्धी कार्यविधि, २०७८ को दफा ११ को उपदफा (३) बमोजिम ‘विदेशमा जन्मेका नाबालकहरुको विद्युतीय राहदानी राजदूतासासबाट बनाएको अवस्थामा सो राहदानी नवीकरण गर्नु अगावै निवेदकले अनिवार्य रुपमा नेपाल गई नाबालक परिचयपत्र प्राप्त गरिसक्नु पर्नेछ र राहदानी नवीकरण गर्दा सो समेत पेश गर्नु पर्ने छ’ भन्ने व्यवस्था भएको हुँदा सोही बमोजिम राहदानी नवीकरण गर्नु अगावै नाबालक परिचयपत्र अनिवार्य रुपमा बनाउनु हुन अनुरोध गरेको छ ।
साथै, १६ वर्ष उमेर पुगेका तर नेपाली नागरिकताको प्रमाणपत्र नबनाएकाहरुको हकमा राहदानी नवीकरण गर्दा वहाल अवधि (validity period) २ वर्षको मात्र हुनेछ र राहदानी नवीकरण गर्नु अगावै नेपाल गई अनिवार्य रुपमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी सो समेत पेश गर्नु पर्ने छ ।
जापानमै जन्मेर पहिलोपटक राहदानी लिएका बालबालिकाको राहदानी नविकरण गर्ने बेला नेपालमा नावालक परिचय पत्र अनिवार्य आवश्यक पर्दछ । तसर्थ तपाईहरु पनि यस विषयमा जानकार रहनु होला ।
