
जापानमा १७ देखि १९ वर्षका किशोरकिशोरीमा गरिएको सर्वेक्षणमा आधाभन्दा बढीले आफूहरुले भविष्यमा बच्चा जन्माउन नचाहेको बताएका छन् ।
सर्वेक्षणमा सहभागीमध्ये केहीले परिवार बढाउनेदेखि सम्पत्ति र जागिरको समेत चिन्ता व्यक्त गरेका छन् ।
निप्पोन फाउण्डेसनले डिसेम्बरमा एक अनलाइन सर्वेक्षण गरेको थियो । जसमा १ हजार जनाले भाग लिएका थिए ।
उनीहरुलाई तपाईंहरु भविष्यमा बच्चा चाहनुहुन्छ भनेर गरिएको प्रश्नमा ५९ प्रतिशतले सकारात्मक जवाफ दिएका थिए ।
यद्यपि बच्चा जन्माउने मनशायबारे सोधेको प्रश्नमा ४६ प्रतिशतले सकारात्मक उत्तर दिएका छन् भने २३ प्रतिशतले बच्चा नजन्माउने जवाफ दिएका छन् ।
सर्वेक्षणमा सहभागी भएका ३१ प्रतिशतले भने आफूहरुले यसबारेमा नसोचेको जवाफ दिएका छन् ।
बच्चा जन्माउन चाहने सहभागीहरुसँग परिवार सुरु गर्न बाधक कारकतत्व चयन गर्न विभिन्न विकल्प दिइएको थियो । जसमा धेरैजसोले आर्थिक बोझका कारण बच्चा जन्माउन समस्या हुने जवाफ दिएका छन् ।
५४ प्रतिशतले नोकरी र बच्चाको पालनपोषणबीचको सन्तुलनमा आउने कठिनाईलाई चयन गरेका थिए ।
यो प्रश्नमा ३७ प्रतिशत महिलाले मनोवैज्ञानिक दबाब र ३६ प्रतिशतले शारीरिक बोझलाई छानेका थिए । ४४ प्रतिशत पुरुष र ३९ प्रतिशत महिलाले समयअभावलाई पनि चुनेका थिए ।