जापानमा लगातार २३ औं महिना मूल्यवृद्धि, थोक मूल्य साढे ९ प्रतिशत बढ्यो

जापानमा थप महँगी बढ्दा जनजीवन प्रभावित बनेको छ । केही समयदेखि जापानमा थोक वस्तुमा महँगी बढेको छ ।

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे) ले सार्वजनिक गरेको तथ्यांकअनुसार थोक वस्तुमा मूल्यवृद्धि भएको हो ।

तथ्यांकअनुसार गत वर्षको तुलनामा जनवरीमा थोक मूल्यमा आधारित महँगी ९.५ प्रतिशतले बढेको छ ।

ऊर्जा र कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण समग्रमा थोक महँगी बढेको हो ।

थोक महँगी अर्थात् विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३ औं महिनामा उकालो लागेको बीओजेले जनाएको छ ।

संसोधित तथ्यांकअनुसार डिसेम्बरको वृद्धिदर साढे १० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा आयात मूल्य एक वर्षअघिको तुलनामा १७.८ प्रतिशतले बढेको छ । डलरको तुलनमा जापानी येन कमजोर हुँदा पनि मूल्यमा असर परेको बताइएको छ ।

समीक्षा अवधिमा येनका आधारमा निर्यात मूल्य ९ प्रतिशतले बढेको बीओजेको भनाई छ ।

विशेष गरी विद्युत्, शहरी ग्यास र पानी लगायतका वस्तुहरूको मूल्य ४९.७ प्रतिशतले बढेको छ । फलाम र इस्पातको मूल्य १९.२ प्रतिशतले बढ्दा खाद्यान्न र पेय पदार्थको मूल्य पनि ८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?