जापानको राजधानी टोकियोसहित कान्तो कोसिन क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भोलि फेब्रुअरी १० मा टोकियोसहित कान्तो कोसिन र अन्य क्षेत्रमा पनि भारी हिमपात हुने सम्भावना रहेको छ ।
भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र मौसम विज्ञान निकायले हिमपातको सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर नजान अनुरोध गरेको छ ।
शुक्रबार दिउँसो हिमपातले सडकमा सवारी साधनहरु अलपत्र पर्ने भएकाले अत्यावश्यक बाहेक सवारी साधन लिएर बाहिर नजान पनि विभागले अनुरोध गरेको छ ।
मौसम विभागका अनुसार शुक्रबार कान्तो कोशिन क्षेत्रमा भारी हिमपात हुने खतरा छ । जापान एयरलाइन्सले बिहीबार ५ बजेसम्म हानेदा विमानस्थलबाट शुक्रबारका लागि हुने ३२ उडान रद्द गरेको छ ।
शिन्कान्सेन, सबवे र अन्य रेल सेवा सञ्चालकहरुले पनि सेवा रद्द वा ढिलाई गर्न सक्ने जनाइएको छ ।
यसअघि पनि कान्तो कोसिन क्षेत्रमा भारी हिमपात हुने अनुमान गरिएको भएपनि धेरै हिमपात भएको थिएन ।