
जापानका प्रधानमन्त्री फुमियो किशिदाले समलिङ्गी जोडीका विषयमा आफ्ना सचिवले गरेको आपत्तिजनक टिप्पणीका लागि माफी मागेका छन् ।
उनका सचिव आराई मायायोशीले समलिङ्गी जोडी आफ्ना छिमेकीका रुपमा देख्न नचाहेको टिप्पणी गरेका थिए । साथै उनले प्रधानमन्त्री किशिदाका सबै सचिवहरु समलिङ्गी विवाहका विरोधी भएको पनि बताएका थिए ।
सो विषय विवादित बनेपछि आराईले सोही दिन आफ्नो भनाई फिताए लिँदै माफी मागेका थिए । प्रधानमन्त्री किशिदाले उनलाई बर्खास्त गरिसकेका छन् ।
किशिदाले सोमबार सरकार र सत्तारुढ पार्टीको बैठकलाई सम्बोधन गरेका थिए । उनले आराईको भनाई समावेशी समाजको निर्माण र विविधताको सम्मान गर्ने सरकारी नीतिका विरुद्ध भएको बताएका थिए ।
उनले भने, ‘यो भनाई सरकारको नीतिको पूर्णतः विपरीत हो । साथै यो खदजनक पनि छ । यसबाट आम जनतामा भ्रम पैदा भएको छ । म यो भनाईबाट असर परेका सबैसँग माफी चाहन्छु ।’
सो भनाईलाई लिएर विपक्षीले सरकारको चर्को आलोचना गरिरहेका छन् ।