फिलिपिन्स चोरीमा संलग्न गिरोहका ४ जना जापानीलाई सुपुर्दगी गर्न सकारात्मक

फिलिपिन्सका जापानमा शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार जनालाई सुपुर्दगी गर्न सकारात्मक देखिएको छ ।

फिलिपिन्सका न्यायमन्त्रीले चोरीमा संलग्न भएका उनीहरुलाई सुपुर्दगी गर्न सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।

फिलिपिन्सस्थित जापानी दूतावासले सोमबार चार जापानीलाई सुपुर्दगी गर्न आधिकारिक अनुरोध गरेको थियो ।

न्यायमन्त्री जिसस क्रिस्पिन रेमुलाले यो साताको अन्त्यसम्म प्रक्रिया पूरा गरेर जापान सुपुर्दगी गर्न सकिने जनाएका छन् ।

उनले राष्ट्रपति फर्डिनेन्डो मार्कोस जुनियरको जापान भ्रमणअघि यो मुद्दा समाधान गरिने बताए । फिलिपिनी राष्ट्रपतिले फेब्रुअरीमा जापान भ्रमण गर्दैछन् ।

फिलिपिन्समा पक्राउ परेका चार जनालाई आप्रवासन केन्द्रमा राखिएको छ । जापानको प्रहरीले २०१९ मा भएको घोटाला तथा अन्य अपराधमा उनीहरु संलग्न भएको भन्दै वारेन्ट जारी गरेको छ । तिनीहरुमध्ये एक जना जापानमा हालै भएका शृङ्खलाबद्ध चोरीमा समेत संलग्न रहेको आशंका छ ।

यद्यपि पक्राउ परेकामध्ये वातानाबे युकीमाथि फिलिपिन्समा पनि हिंस्रक घटनामा सामेल भएको आरोप लागेकाले उनको तत्कालै सुपुर्दगी हुने सम्भावना कम छ ।

न्यायमन्त्री रेमुलाले केही आरोपीले आफूविरुद्ध आरोप दर्ता गराएर सुपुर्दगीबाट बच्न कोशिस गर्ने भन्दै आफ्नो मन्त्रालयले सकेमा त्यस्ता मुद्दा खारेज गरेर सुपुर्दगी गरिने पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?