जापानमा चोरी र लुटपाटमा संलग्न गिरोहका ३० जना बढी पक्राउ

जापानमा चोरी र लुटपाटमा संलग्न गिरोहका ३० जनाभन्दा बढी पक्राउ परेका छन् ।

उनीहरु जापानमा पछिल्लो समयमा भइरहेका चोरी तथा लुटपाटका घटनामा संलग्न भएको पाइएको छ । यो समूहका नाइके भने फिलिपिन्सको मनिलामा अध्यागमन केन्द्रको जेलमा रहेको बताइएको छ ।

उनले जापानमा चोरी र लुटपाटको गिरोह सञ्चालन गर्न सामजिक सञ्जालमा विज्ञापन नै खुलाएर पार्ट टाइम ‘काम’ का लागि नियुक्त गर्ने गरेका थिए ।

फिलिपिन्सका न्यायमन्त्री जिसस क्रिस्पिन रेमुल्लाले गिरोहका नाइके फिलिपिन्सको जेलमा भएको जानकारी बिहीबार क्योदो न्युजलाई दिएका थिए ।

उनीसहित गिरोहका अर्का सदस्य पनि जेलमा छन् । आवश्यक कागजपत्र तयार पारेर गिरोहका सदस्यलाई जापान सुपुर्दगी गर्ने तयारी भइरहेको छ । तर गिरोहका नाइके लुफीविरुद्ध अदालतमा मुद्दा चलिरहेकाले उनी तत्कालै सुपुर्दगी हुने छैनन् ।

उनी सन् २०२१ को मेमा पक्राउ परेका थिए । नक्कली कागजपत्र प्रयोग गरेको आरोपमा उनी जेलमा छन् ।

जापानमा चोरी तथा लुटपाटका लागि लुफी मि र मिचुहासी नामबाट निर्देशन आउने गरेको पक्राउ परेकाहरुको फोनको विश्लेषणबाट पुष्टि भएको छ ।

जापान प्रहरीले यो गिरोहका सबैलाई पक्राउ गर्ने कोशिस गरिरहेको छ । जापानका १४ प्रिफेक्चरमा चोरीका घटनामा सो गिरोहको संलग्ना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?