नागासाकी नजिकै समुद्रमा डुबेको पानीजहाजबाट १३ जनाको उद्दार

जापानको नागासाकी प्रिफेक्चर नजिकै समुद्रमा डुबेको एउटा मालबाहक पानीजहाजबाट १३ जनाको जिवितै उद्दार गरिएको छ । मंगलबारराति उनीहरुलाई उद्दार गरिएको जापानी तटरक्षक बलले जनाएको छ ।

तटरक्षक अधिकारीहरुले चालक दलका दुई सदस्यको मृत्यु भएको र ६ जनालाई बेहोस अवस्थामा फेला पारेको पुष्टि गरेका छन् ।

हङकङमा दर्ता भएको ‘जिनतिआन’ नामको यो मालबाहक जहाजले राति करिब ११ बजे तटरक्षक बलका अधिकारीहरुसमक्ष सहयोग मागेको थियो ।

त्यसबेला जहाजले पूर्वी चीन सागरको दान्जो द्विप समूह नजिकै थियो । चालक दलका सदस्यहरुले जहाज एकातर्फ ढल्किएर पानी भरिएपछि दुर्घटना भएको बताएका थिए ।

जहाजमा चालक दलका २२ जना सदस्य थिए । जसमा चीनका १४ जना र म्यानमारका ८ जना नागरिक थिए ।

राति साढे २ बजेसम्ममा चालक दलका सदस्यहरु उद्दारका लागि गएको नाउमा चढिसकेका थिए । त्यसको केहीबेरमा नै पानीजहाज डुबेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?