
जापानमा सन् २०२१ मा सम्पत्ति खाने कोही उत्तराधिकारी नभएका मृतकहरुबाट ६४ अर्ब ७० करोड येन बराबरको सम्पत्ति सरकारी कोषमा आएको छ ।
सम्पत्ति खाने उत्तराधिकारी नभएकाबाट सरकारी कोषमा जम्मा भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै रकम हो ।
वृद्ध जनसंख्या बढेको, एक्लै बसेका तथा मृत्युपछि सम्पत्ति कसलाई दिने भनेर इच्छा पत्र नबनाइएको, मृतकको नाममा रहेको घरजग्गा र अन्य सम्पत्तिको मूल्यमा भएको वृद्धिले सरकारी कोषमा कीर्तिमानी रकम जम्मा भएको हो ।
सम्पत्तिको यो आकार अघिल्लो आर्थिक वर्षको भन्दा भन्दा ७.८ प्रतिशत धेरै हो भने १० वर्ष अघिको तुलनामा दोब्बर र २० वर्षअघिको तुलनामा ६ गुणा बढी हो ।
आर्थिक वर्ष २००२ र आर्थिक वर्ष २०११ मा उत्तराधिकारी नभएकै कारण सरकारी कोषमा १० अर्ब ७० करोड येन र ३३ अर्ब २० करोड येन आएको थियो ।
कुनै व्यक्तिको मृत्यु भएको छ तथा सम्पत्तिको उत्तराधिकारी वा इच्छापत्र नभएमा पारिवारिक अदालतले त्यस्तो खालको सम्पत्तिको व्यवस्थापनका लागि उत्तराधिकार प्रशासक नियुक्त गरिदिन सक्छ ।
उसैले मृतकको सम्पत्तिमा तिर्नु पर्ने कर वा महसुल भुक्तानी गर्छ । मृतकको सम्पत्ति पाउने कुनै पनि उत्तराधिकारी छ कि छैन भन्ने सुनिश्चित गर्ने काम उत्तराधिकार प्रशासकको हुन्छ ।
मृतकसँग बस्ने वा उसको घरको काम गरिदिने विशेष सम्बन्ध भएका व्यक्ति छन् भने पारिवारिक अदालतको निर्णय र अन्य कारकहरु हेरेर उत्तराधिकार प्रशासकले मृतकको केही सम्पत्ति त्यस्ता व्यक्तिलाई दिन्छ । बाँकी सम्पत्ति भने सरकारी कोषमा जान्छ ।
हालैका वर्षमा उत्तराधिकार प्रशासक नियुक्तिका लागि अनुरोध आउने क्रम बढेको छ । २०२१ मा २७ हजार २०८ ओटा अनुरोध आएका थिए । यो १० वर्ष अघिको तुलनामा १.७ गुणा धेरै हो ।