
जापानमा अत्यधिक चिसो र शितलहरका कारण आगामी केही दिन भारी हिमपात हुने अनुमान गरिएको छ । शितलहर र हिमपातका कारण तापक्रम अत्यधिक घट्नेछ ।
जापानको मौसम विभागका अनुसार शक्तिशाली हिउँदे प्रणालीका कारण उत्तरी र पश्चिमी जापानमा अत्यधिक शितलहर हुनेछ ।
सी अफ जापानको तटीय क्षेत्र पर्ने जापानको उत्तरी र दक्षिण क्षेत्रमा भारी हिमपात र हिउआँधी आउने सम्भावना छ ।
मौसम विभागका अधिकारीहरुका अनुसार मंगलबार राति मध्य टोकियो आसपासका सडक हिँउले ढाकिनेछन् ।
बुधबार बिहानसम्म निगाता र होकुरिकुमा ९० सेन्टिमिटर, कान्तो–कोशिन, कान्साई र चुगोकु क्षेत्रमा ७० सेन्टिमिटरसम्म हिउँ थुप्रने अनुमान विभागले गरेको छ । देशभरको तापक्रम एक दशककै न्यून स्तरमा झर्ने बताइएको छ ।
भारी हिमपात पर्ने भनिएका क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने भएकोले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ ।