जापानका प्रधानमन्त्री किशिदाले युक्रेन भ्रमण गर्ने सम्भावना

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी फेब्रुअरीमा युक्रेन भ्रमण गर्ने सम्भावना रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले हमला गरेको एक वर्ष पुग्नै लाग्दा जापानी प्रधानमन्त्रीले युक्रेन भ्रमण गर्ने र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने सोच बनाएको जापानी सरकारी उच्च स्रोतले जनाएको छ ।

विश्वका प्रमुख आर्थिक शक्तिहरुको समूह जी–७ को अध्यक्षका रुपमा उनी युक्रेनलाई सहयोग र समर्थन जारी रहेको देखाउन चाहन्छन् । उनले किभ भ्रमणका क्रममा युक्रेनी राष्ट्रपतिसँग संयुक्त वक्तव्य समेत जारी गरी रुसी अतिक्रमणको विरोध गर्ने बताइएको छ ।

योमियुरी पत्रिकाले आफ्नो रिपोर्टमा किशिदाले युक्रेन भ्रमणअघि त्यसबेला हुने युद्धको अवस्था र सुरक्षालाई लिएर अन्तिम निर्णय गर्ने जनाएको छ ।

जापानी विदेश मन्त्रालयले भने यसबारेमा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन ।

एक टेलिभिजन कार्यक्रममा बोल्दै उपमुख्य क्याबिनेट सचिव सेजी किहाराले जी–७ को अध्यक्षका रुपमा जापानले पूरा गर्नैपर्ने कामबारे सोचबिचार गरिरहेको जनाएका छन् ।

यद्यपि उनले किशिदाले युक्रेन भ्रमण गर्ने अन्तिम टुंगो भने लागिनसकेको र तत्कालीन अवस्था हेरेर निर्णय गर्ने बताएका छन् ।

जनवरीको सुरुमा जेलेन्स्कीसँगको टेलिफोन कुराकानीमा किशिदाले परिस्थितिको आकलन गरेर किभ भ्रमणबारे विचार गर्ने जानकारी गराएका थिए । जापानको हिरोसिमामा आगामी मेमा जी–७ को शिखर सम्मेलन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?