जापान पठाउने भन्दै ४१ युवासँग ३ करोड लिएर फरार

जापान पठाउने भन्दै एउटा समूहले ४१ जना युवासँग ३ करोडभन्दा बढी रकम लिएर फरार भएको छ । मोरङका ४० जना र झापाका १ जना युवाबाट ठूलो रकम ठगी गरेर सो समूह फरार भएको हो ।

मोरङको सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले ३ करोड ठगी गरी फरार भएको हो । अजयसहित उनका भाइ रञ्जित राजवंशी, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारीले रकम ठगी गरेको पीडितहरुको भनाई छ । पीडित पनि सबै राजवंशी समुदायकै छन् ।

पीडित युवाहरू न्यायका लागि प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।

चितवनका राजेन्द्र र मोरङ सुनवर्षी–६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको पीडितको भनाई छ । उनीहरूका अनुसार राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम गरेर फर्किए हुन् ।

अजयले उठाएको रकम लिएर मुख्य योजनाकार राजेन्द्र पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रञ्जित–अनुराधा र बहिनी विद्या फरार छन् ।

पीडितहरूले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका छन् । विभागले ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको छ ।

मोरङको सुनवर्षी नगरपालिका–३, भेलाहीका ३६ वर्षीय मदन कुमार राजवंशीको १६ लाख, कटहरी–३, हल्दीबारीका ३६ वर्षीय विवेक राजवंशीको १८ लाख रुपैया लिएका छन् ।

विवेकले जापानमा मासिक चार लाख रुपैयाँ कमाई हुने आश्वासन पाएपछि चार किस्ता गरेर १८ लाख रुपैयाँ अजयलाई बुझाएका थिए । झापा, कनकाई–१ का भवानी प्रसाद अधिकारीले आठ लाख रुपैयाँ बुझाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?