जापानले दक्षिण कोरियालाई भन्यो– युद्धकालीन श्रम विवादमा थप क्षतिपूर्ति नमाग्ने ग्यारेन्टी चाहिन्छ

जापानले युद्धकालीन श्रम विवादको समाधान गर्ने दक्षिण कोरियाली सरकारको योजनामा भविष्यमा जापानी कम्पनीसँग थप क्षतिपूर्ति नमाग्ने ग्यारेन्टी उल्लेख हुनुपर्ने बताएको छ ।

दक्षिण कोरियाले गत साता जापानी कम्पनीको सट्टा एक सरकारी संस्थाका माध्यमबाट युद्धकालीन श्रम मुद्दाका वादीहरुलाई भुक्तान गर्ने योजना बाहिर ल्याएको थियो ।

त्यसपछि जापान र दक्षिण कोरियाका विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुबीच वार्ता चलिरहेको छ । जापानको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यो प्रस्ताव अन्तिम चरणमा रहेको बताएका छन् ।

जापान सरकारका केही अधिकारीहरुले जापानी नीति उल्लंघन नहुने निश्चित भएपछि मात्रै यो सम्झौता हुनसक्ने जनाएका छन् ।

जापान सरकारले दाबीसँग सम्बन्धी सबै अधिकारको पूर्ण र अन्तिम छिनोफानो सन् १९६५ मा नै दुई देशबीच सम्बन्ध सामान्यीकरण गर्दा नै गरिसकिएको बताएका छन् ।

जापानले यसका बाबजुद भविष्यमा जापानी कम्पनीले भुक्तान गर्नु नपर्ने ग्यारेन्टी चाहिने बताएको छ ।

सन् २०१८ मा दक्षिण कोरियाको सर्वोच्च अदालतले जापानी कम्पनीलाई दोस्रो विश्वयुद्धका क्रममा दाबीकर्ता वा उनीहरुका परिवारलाई जबर्जस्ती काममा लगाएकोमा क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?