
भूगर्भविदहरुले जापानमा जुनसुकै बेला शक्तिशाली भूकम्प जानसक्ने चेतावनी दिएका छन् । जापानमा ३१ वटा ‘फल्ट जोन’ सक्रिय रहेका कारण ३० वर्षभित्र कुनै पनि बेला विनाशकारी भूकम्प जानसक्ने सम्भावना रहेको उनीहरुको भनाई छ ।
१७ जनवरी, १९९५ मा पश्चिमी प्रिफेक्चर ह्योगो र आसपासका इलाका मुनि रहेको अन्तरदेशीय ‘फल्ट जोन’ का कारण शक्तिशाली भूकम्प गएको थियो ।
२० किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएका सबै सक्रिय ‘फल्ट जोन’ को सरकारले अध्ययन गरेको हो । सोही अध्ययनका आधारमा विनाशकारी भूकम्प आउनसक्ने चेतावनी दिइएको हो ।
अध्ययनअनुसार सक्रिय ‘फल्ट जोन’ क्षेत्रका कारण आगामी ३० वर्षमा महाभूकम्प आउने आशंकालाई चार वर्गमा बाँडिएको छ ।
सक्रिय ‘फल्ट जोन’ रहेका क्षेत्रमा महाभूकम्पको आशंका ३ प्रतिशत या त्यो भन्दा बढी रहेको छ । यसलाई ‘एस’ को दर्जा दिइएको छ ।
१९९५ को भूकम्पभन्दा ठीकअघि भूकम्प आउने आशंका ०.०२ देखि ८ प्रतिशत थियो । जसलाई ‘एस’ को दर्जा दिइएको थियो । यसवर्ष १ जनवरीसम्म ११४ प्रमुख सक्रिय ‘फल्ट जोन’ मध्ये ३१ वटालाई यो श्रेणीमा राखिएको छ ।
इतोइगावा, शिजुओका, कोजोसेन ‘फल्ट जोन’ का केही हिस्सासहित जापानको केन्द्रमा रहेका ८ ‘फल्ट जोन’ मा भूकम्प आउने आशंका ८ प्रतिशतभन्दा बढी छ । यसबाट कुनै पनि महाभूकम्प १९९५ को भन्दा भयानक हुने आशंका गरिएको छ ।