जापानका पूर्वप्रधानमन्त्री आबेको आज राजकीय अन्त्येष्टि, सुरक्षा व्यवस्था कडा

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज टोकियोमा राजकीय अन्त्येष्टि गरिदैछ । अन्त्येष्टिमा विश्वभरबाट करिब ४ हजार विशिष्ट पाहुनाहरु सहभागी हुँदैछन् ।

गत जुलाई चुनावी प्रचारका क्रममा आबेको एक व्यक्तिले गोली हानी हत्या गरेका थिए । अन्त्येष्टिमा प्रधानमन्त्री फुमियो किशिदा, जापानी संसदका दुवै सदनका प्रमुखहरुसहित शीर्ष नेताहरु समेत सहभागी हुनेछन् ।

अन्त्येष्टिमा आबेका विश्वासपात्र तथा आबेले प्रधानमन्त्रीको पद हस्तान्तरण गरेका पूर्वप्रधानमन्त्री सुगा योशिहिदेले सम्बोधन गर्नेछन् । आबेको मन्त्रिपरिषद्मा उनी महत्वपूर्ण जिम्मेवारीमा थिए ।

अन्त्येष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसहित विश्वका नेताहरु सहभागी हुनेछन् । कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आबेको राजकीय अन्त्येष्टि गर्ने निर्णयमा धेरै जापानीहरु भने असन्तुष्ट रहेका छन् । कतिपयले भने आबेको राजकीय अन्त्येष्टिमा हुने खर्चप्रति असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?