
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिलाई लिएर जापान दुई कित्तामा विभाजित छ । अधिकांश जापानीहरु आबेको राजकीय अन्त्येष्टिको विपक्षमा छन् ।
अब आबेको अन्त्येष्टिको खर्चलाई लिएर नयाँ विषय बाहिर आएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्तिम संस्कारमा भएको खर्च भन्दा आबेको अन्त्येष्टिमा बढी खर्च लाग्ने विवरण बाहिर आएका छन् ।
महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा लागेको खर्चको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन । तर द डेली मिररमा छापिएको समाचार अनुसार करिब ८० लाख पाउन्ड अर्थात १.३ अर्ब येन खर्च भएको छ ।
जबकि जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको अन्तिम संस्कारको खर्च १.६६ अर्ब येन हुने अनुमान छ । यो खर्च वास्तविक खर्च अनुमान भन्दा निकै बढी हुने ठानिएको छ ।
धेरैले टोकियो ओलम्पिकमा खर्च गरिएजस्तै ठूलो रकम खर्च हुने अनुमान गरेका छन् । टोकियो ओलम्पिकमा १३ अर्ब अमेरिकी डलर खर्च भएको थियो । जुन रकम सुरुवाती अनुमानभन्दा झण्डै दोब्बर थियो ।
कतिपयले भने दुई राजकीय अन्तिम संस्कारको खर्चको भिन्नतालाई जापानमा ठूला समारोह आयोजनाको व्यवस्थापन गर्ने कम्पनीसँग जोडेर हेरेका छन् ।
टोकियोमा रहेको कार्यक्रम आयोजना गर्ने कम्पनी मुरयामा एकमात्र दाबेदार कम्पनीका रूपमा रहेको छ । त्यसैले राजकीय अन्तिम संस्कारका लागि १ सय ७६ मिलियन येनको सम्झौता उसले पाएको हो ।
जापानी समाचार संस्था क्योदोले गरेको एक सर्वेक्षणमा सहभागी ७० प्रतिशतभन्दा धेरै मानिसहरूले सरकारले अन्तिम संस्कारमा निकै धेरै खर्च गर्न लागेको धारणा राखेका थिए । झण्डै आधाजसो पैसा कडा सुरक्षाका लागि खर्च हुने ठानिएको छ भने अर्को एकतिहाइ विदेशी पाहुनाको आतिथ्यमा जानेछ ।
मंगलबार राजकीय अन्तिम संस्कार अगाडि विदेशी पाहुनाहरू जापान पुगेर वर्तमान प्रधानमन्त्री फुमिओ किशिदासँग भेट गर्दैछन् । तीनदिने राजकीय अन्त्येष्टि समारोहलाई ‘अन्तिम संस्कार कूटनीति’ का रुपमा धेरैले व्याख्या गरेका छन् ।
सो समारोहका लागि २१७ देशबाट ७०० जना अतिथिहरू आउँदैछन् । जसमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिज लगायत छन् ।
तर जापानमा बेलायती महारानीको लन्डनमा भएको अन्तिम संस्कारमा धेरैजसो वर्तमान विश्व नेता सहभागी भएका थिए भने आबेको समारोहमा सहभागी हुन लागेकाहरू धेरैजसो भूतपूर्व नेताहरू हुने देखिन्छ । टेलिभिजनमा समेत जापानी दर्शकहरूलाई ब्रिटिशहरूको आफ्नी महारानीप्रतिको आत्मीयता झल्काउने फूटेहरू देखाउने गरिएको छ ।
जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको ६७ वर्षको उमेरमा देशमा बिरलै हुने हिंस्रक हमलामा परी मृत्यु भएको हो । उनको चुनावी प्रचारका क्रममा गोली हानी हत्या गरिएको हो । राजकीय सम्मान पाउने आबे जापानका दोस्रा प्रधानमन्त्री हुन् ।
यसअघि प्रधानमन्त्री सिगेरू योशिदाको निधनमा ५५ वर्षअघि राजकीय अन्तिम संस्कार गरिएको थियो । उनले दोस्रो विश्वयुद्धको केहीपछि देशको नेतृत्व गरेका थिए र उनलाई युद्धपछिको जापानी बाटो तय गरेको श्रेय दिइन्थ्यो ।
आबेको अन्तिम संस्कारप्रति क्रुद्ध केही स्थानीय सञ्चारमाध्यमहरूले योशिदाको अन्तिम संस्कारका बेला सन् १९६७ मा १ करोड ८० लाख खर्च भएको लेखेका छन् । उक्त रकम हालको ७ करोड येन बराबर हो । जापानले अहिले दशकौं यताको खराब महँगीको सामना गरिरहेको छ ।
आलोचकहरूले उक्त रकम सबैभन्दा धेरै मारमा परिरहेका न्यून आय भएका परिवारमा खर्च गर्न सकिने बताइरहेका छन् । आबेको राजकीय अन्तिम संस्कारमाथि असन्तोष व्यक्त भइरहँदा वर्तमान प्रशासनमाथिको विश्वासको दर घट्दै गएर किशिदा शक्तिमा आएयताकै न्यून बिन्दूमा पुगेको जनाइएको छ ।
प्रधानमन्त्रीका रूपमा आबेका नीतिले जापानलाई विभाजित पारेको थियो । जापानको सार्वजनिक वृत्तमा उनीप्रतिको द्वेष अझै हट्ने सम्भावना कम छ । बीबीसी रिपोर्टमा आधारित