
जापानले आगामी ११ अक्टोबरदेखि कोभिड–१९ का कारण लगाइएका जापान प्रवेशमाथिका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।
अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलनका क्रममा ११ अक्टोबरदेखि प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् ।
कोरोनाका कारण जापानको पर्यटन क्षेत्रमा परेको असर कम गर्न जापानले यात्रा प्रतिबन्ध हटाउने तयारी गरेको हो ।
जापानमा महामारी सुरु भएपछि कोरोना नियन्त्रणका लागि कडा प्रतिबन्धहरु लगाइएको थियो । विस्तारै खुकुलो पारिएपनि फेरि कोरोनाको महामारी बढेपछि फेरि कडाइ गरिएको थियो । जापानमा हाल दैनिक ५० हजार मानिस मात्रै आउन पाउँछन् ।
यसैगरी प्रधानमन्त्री किशिदाले भिषा प्राप्त गर्दा लाग्ने रकममा समेत छुट दिने बताएका छन् । विदेशी पर्यटकलाई कोभिडपूर्वको अवस्थामा जस्तै व्यक्तिगत यात्रा प्रवेश पनि खुला गरिने भएको छ ।
जापानले आगामी महिनाबाट ‘गो टु ट्राभल’ अभियानलाई पनि देशव्यापी रुपमा लागू गर्ने भएको छ । यसअघि सो अभियान स्थगित गरिएको थियो ।
जापानको अर्थतन्त्रमा आएको गिरावट रोक्न खेलकुद, संगीत, चलचित्रका टिकटमा विशेष छुटसहित नयाँ राष्ट्रिय भ्रमण कार्यक्रम लागू गरिने भएको छ ।
प्रधानमन्त्रीको घोषणासँगै ११ अक्टोबरदेखि विदेशबाट निर्वाध रुपमा विदेशी नागरिकहरु जापान प्रवेश गर्न पाउनेछन् ।
विमान कम्पनीहरुले पनि सीमा संख्याका कारण बढेको हवाई टिकटको मूल्य घटाउने भएका छन् । जापान प्रवेशमा सहज भए पनि खोप, मास्कजस्ता सुरक्षामा भने कडाई जारी राख्नेछ ।