जापानमा शक्तिशाली आँधी, लाखौं मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी आएपछि लाखौं मानिसलाई सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

नान्मादोल आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको र भीषण वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आँधीका कारण बाढीपहिरो आउनसक्ने भन्दै तीव्र गतिका रेल, फेरीहरू र सयौं उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

जापानको कागेशिमा, मियाजाकी र ओइतामा पाँचौ स्तरको, क्युशु, शिकोकु र चुगोकु क्षेत्रमा चौथो स्तरको अलर्ट जारी गर्दै सो क्षेत्रमा रहेका मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

मिसाटोमा शनिबारदेखि करिब ९ सय मिलिमिटर वर्षा मापन भएको छ । आइतबार लाखौं सर्वसाधारण आँधीबाट प्रभावित बनेको र सोमबार पनि केही प्रान्तमा प्रभाव गर्ने अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरूले सर्वसाधारणका लागि विशेष सूचना जारी गरेका छन् । नान्मादोलका कारण तटीय क्षेत्रमा भीषण वर्षा र आँधीबेहरी आउने सम्भावना रहेका कारण घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जापानको जलवायु निकायले जनाएको छ ।

दक्षिणी प्रान्तहरुबाट अघि बढिरहेको आँधी टोकियोसम्म आइपुग्नसक्ने अनुमान गरिएको छ । नान्माडोल सोमबार बिहान क्युशु हुँदै पूर्वतर्फ सर्ने अनुमान गरिएको छ । त्यसपछि मंगलबारसम्म होन्सुको मुख्य टापुबाट उत्तरतर्फ अघि बढ्नेछ ।

क्युशु, शिकोकु र चुकोगुका साथै किन्की र टोकाई क्षेत्रमा भारी वर्षाको सम्भावना छन् । पहिरो आउने, तल्ला तटीय क्षेत्रमा बाढी र खोलाहरुको सतह बढ्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?