ताइवानमा तीन शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

ताइवानमा पछिल्लो २४ घन्टामा तीन शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापानले सुनामीको अलर्ट जारी गरेको छ ।

ताइवानको मौसम ब्युरोले दक्षिण–पूर्वी इलाकाको ताइतुंग काउन्टीमा भूकम्पको केन्द्रविन्दु रहेको जनाएको छ । शनिबार यसै इलाकामा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

आइतबार बिहान ६.८ म्याग्निच्युडको र दिउँसो ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । यो भूकम्प ताइतुंगको १० किलोमिटर भित्रबाट गएको बताइएको छ ।

भूकम्पका कारण ताइवानका केही इलाकामा सडकमा क्षति पुगेको छ भने रेल लिकबाट बाहिरिएका दृश्य देखिएका छन् । युलीमा एक स्टोर भत्किदा ४ जना पुरिएका छन् । उनीहरुलाई निकाल्ने कोशिस जारी छ ।

पुल भत्किदा केही स्थानमा गाडीहरु पुलबाट खसेका छन् । डोंगली स्टेशनमा रेल लिकबा बाहिर निस्किएको छ भने सो स्टेशनको छत समेत खसेको छ ।

यूएस प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पपछि ताइवानमा सुनामी आउन सक्ने चेतावनी दिएको छ । उता जापानमा पनि मौसम विभागले ३.२ फिट अग्लो सुनामी आउनसक्ने चेतावनी दिएको छ ।

जापानको ओकिनावामा पनि भूकम्प आएको छ । तीनवटै भूकम्पको झट्का ताइवानभरी महसुस गरिएको थियो । राजधानी ताइपेमा केही भवनहरु केही समय हल्लिएका थिए भने कतिपयमा क्षति पुगेको छ । ताइवान रिङ्ग अफ फायर इलाकामा पर्छ ।

त्यसैले यहाँ धेरै भूकम्प र सुनामी आउँछ । यसअघि सन् २०१६ मा आएको भूकम्पमा १ सय जनाको मृत्यु भएको थियो भने सन् १९९९ मा आएको ७.३ रेक्टरको भूकम्पले २ हजार जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?