१० लाख दिने सहमतिपछि जापानमा गायिका र दोहोरी साँझ सञ्चालकबीचको विवाद समाधान

जापानमा सांगीतिक कार्यक्रममा बोलाएर आफूमाथि शोषण भएको बताउँदै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा उजुरी दिएकी गायिका अमृता श्रीपाल र आयोजक धनबहादुर थापाबीचको विवाद समाधान भएको छ ।

गायिकामाथिको शोषण आरोपमा धौलागिरि दोहोरी साँझका सञ्चालक थापा १० लाख क्षतिपूर्ति दिन सहमत भएपछि विवाद समाधान भएको हो ।

मोना जापान र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जापान शाखाको पहलमा भएको छलफलपछि थापा गायिका श्रीपाललाई १० लाख क्षतिपूर्ति दिन तयार भएका हुन् ।

थापाले आफूलाई विभिन्न लान्छना लगाएको, बाहिरी कार्यक्रममा जाँदा कमिशन मागेको र ११ सेप्टेम्बरमा आफूमाथि भौतिक आक्रमण समेत भएकाले आफू लुकेर बस्न बाध्य भएको भन्दै गायिकाले प्रतिष्ठानमा निवेदन दिएकी थिइन् । थापाले भने आफूले गायिकामाथि शोषण नगरेको र आफूलाई बदनाम गराउने उद्देश्यले यो घटना बाहिर ल्याइएको दाबी गरेका थिए ।

तीन महिनाको भिषामा जापान पुगेकी गायिकालाई थप दुई महिना उनको चाहानाअनुसार बस्न दिने र फर्किदा टिकट उपलब्ध गराउने समेत सहमति भएको छ ।

गायिका श्रीपाललाई दिनुपर्ने १० लाख येनमध्ये ९ लाख मोना जापानको खातामार्फत उपलब्ध गराउने सहमति भएको छ । बिहीबारदेखि जापान बस्ने भिषा अवधिसम्म मोना जापानले गायिका श्रीपालको जिम्मेवारी लिनेछ ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जापान शाखाका सदस्य कुलवीर थापा, मोना एसिया प्यासिफिक संयोजक दिपक कार्की, एनआरएनए कान्साईका संयोजक दिलिप शर्मा। गलकोट समाज जापानका उपाध्यक्ष शिबु थापा, गौरीशंकर गैरे, कान्साई संयोजक नवराज भट्टराई, व्यवसायी दिलिप कँडेललगायत करिब दुई दर्जको सहभागितामा सहमति भएको हो ।

प्रतिष्ठान शाखाले सार्वजनिक गरेको सहमतिपत्रमा दुवै पक्षले आपसी लेनदेन तथा गायिकाको नेपाल फर्किने टिकट लगायतका सबै विषय टुंगो लगाउँदै अब दुवै पक्षले यो विषय नउठाउने र खण्डन नगर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?