जापानमा गायिका श्रीपालमाथि शोषण भएकै हो ?

गायिका अमृता श्रीपालले आफूलाई जापान बोलाएर विभिन्न किसिमका यातना दिएको र श्रम शोषणा गरेको आरोपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उजुरी दिएकी छन् ।

जापानको ओसाका कोबे सहरमा रहेको धौलागिरि दोहोरी साँझका सञ्चालक धन थापाले सांगीतिक प्रस्तुति दिन बोलाइएको र आफू जापान गएदेखि नै विभिन्न टर्चर दिने, बाहिरी कार्यक्रममा जापान कमिसन मागेको तथा अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाएको उजुरीमा उल्लेख छ ।

उनले आफ्नो अझै २ महिना भिसा म्याद रहेकाले तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिन पनि प्रतिष्ठानको जापान शाखालाई अनुरोध गरेकी छन् ।

गायिका श्रीपालले थापाले आफू र नेपाल (म्याग्दी) मा रहेको परिवारलाई समेत मार्ने धम्की दिएर मानसिक पीडा, सामाजिक इज्जत, सांगीतिक करियरमा असर पार्न चरित्र हत्या गर्न खोजेको र आफ्नो स्वार्थ पूरा नहुँदा ११ सेप्टेम्बरमा भौतिक रुपमा आक्रमण गरेपछि ज्यान जोगाएर एक घरमा शरण लिई लुकिछिपी बसिरहेको उनले जानकारी गराएकी छन् ।

नेपालबाट जापानमा कलाकार बोलाएर नियम विपरीत काममा लगाउने तथा न्युन पारिश्रमिक दिएर गलत फाइदा उठाउने गरेको गुनासो बेलाबेला आउने गर्छ ।

उता दोहोरी साँझका सञ्चालक थापाले भने कलाकारका रुपमा बोलाएर शारीरिक र मानसिक यातना दिएको आरोप निराधार रहेको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै कलाकारका रुपमा तीन महिना दोहोरी साँझमा सांगीतिक प्रस्तुति दिन काजल गुरुङ र अमृता श्रीपाललाई बोलाएको तर अमृताले आफ्नो रेष्टुरेन्ट बाहिर अनुमति बिना मनलाग्दी गर्दै हिँडेपछि विवाद बताएका छन् ।

उनले दुवै जना कलाकार नित्तान्त आफ्नो प्रयोजनका लागि बोलाएकाले समझदारीअनुसारको सुविधा दिएर राखेको उल्लेख गर्दै केही दिनको कार्यक्रमपछि कलाकारलाई पारिश्रमिक दिने दिने गरी सान्दर्भिक र सुरक्षित स्थानहरुमा भने पठाएको स्वीकार गरेका छन् ।

उनले संस्थाको नियम विपरीत काम गर्ने स्टेजमै रिसाउने र झर्किने गरेको र बाहिरी मान्छेको उक्साहटमा निउ खोजेपछि १६ तारिखको टिकट छ नेपाल जानुस् भन्दा चरित्रमा आँच आउने र चरित्रहत्या गर्न खोजेको प्रतिष्ठानमा न्यायका लागि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?