
जापानमा आर्थिक वर्ष २०२१ मा बाल दुर्व्यवहार तथा शोषणका २ लाख ७ हजार ६५९ वटा घटना दर्ता भएका छन् ।
यो तथ्यांक अघिल्लो वर्षको तुलनामा २ हजार ६१५ ले बढी हो । जापानमा लगातार ३१ औं वर्ष बाल शोषणका घटनामा वृद्धि भएको देखिएको हो ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बच्चाका सामू परिवारका सदस्यले शारीरिक रुपमा प्रताडित गर्नेदेखि मनोवैज्ञानिक शोषण गर्ने गरेको देखिएको छ । यस्ता घटनामा देशभरका बाल परामर्श केन्द्रहरुले ६० प्रतिशत घटनामा कारबाही गरेको पाइएको छ ।
‘वृृद्धिको दर सुस्त भएको छ तर हामीले अवस्थाको अनुगमन जारी राख्नुपर्छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।
उनले कोरोना भाइरसको महामारीको प्रभावका कारण स्थितिमा सुधार भएको हो वा वृद्धि भएको हो भन्नेबारेमा यकिनसाथ भन्न नसकिने बताएका छन् ।
गत जुनमा जापानले बाल दुव्र्यवहारविरुद्धका उपायहरू बढाउन र बच्चाको पालनपोषण गर्ने परिवारलाई सहयोग गर्न बाल कल्याण कानुन संशोधन गरेको थियो । अब यो कानुन कार्यान्वयनको चरणमा गएको छ ।
दुव्र्यवहारको प्रकार अनुसार, मनोवैज्ञानिक दुव्र्यवहार सबैभन्दा बढी ६०.१ प्रतिशत अर्थात १ लाख २४ हजार ७२२ वटा रहेका छन् । यसपछि २३.७ प्रतिशत अर्थात ४९ हजार ४३८ वटा शारीरिक शोषणका घटना छन् ।
यसैगरी उपेक्षाका १५.१ प्रतिशत अर्थात ३१ हजार ४५२ वटा घटना र यौन दुव्र्यवहारका १.१ प्रतिशत अर्थात २ हजार २४७ घटना रहेको तथ्यांकले देखाएको छ ।
गत वर्षको तुलनामा मनोवैज्ञानिक दुव्र्यवहारका घटनामा ३ हजार ३८८ ले वृद्धि भएको छ भने शारीरिक दुव्र्यवहारका घटना ७ सय ९७ ले घटेको छ ।
कुल मध्ये आधा अर्थात १ लाख ३ हजार १०४ घटना बाल परामर्श केन्द्रमा आइपुगेका थिए भने २८ हजार ७५ घटना छिमेकी र अपरिचितले तथा १७ हजार ३४४ वटा घटना परिवारले दर्ता गराएका थिए ।