जापानस्थित नेपाली राजदूतावासले नेपालीहरुको तथ्यांक संकलन गर्ने

जापानस्थित नेपाली राजदूतावासले जापानमा बस्ने नेपालीहरुको तथ्यांक संकलन गर्ने भएको छ ।

जापानका लागि नवनियुक्त राजदूत डा.दुर्गाबहादुर सुवेदीले जापानबासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्यांक संकलन सुरु गर्ने जानकारी दिए ।

बुधबार साँझ दूतावास कार्यालयमा राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारीसहित संचारकर्मीहरुसँग कुराकानी गर्दै राजदूत सुवेदीले आफू जापानबासी नेपालीहरुको अभिभावक भएकाले सबैको यथाअवस्था जानकारी राख्न तथ्यांक संकलन आवश्यक रहेको बताए ।

टोकियोस्थित दूतावास कार्यालयमा आउने सेवाग्राहीसँगै अन्य हरेक नेपाली जापानमा नेपालको प्रतिनिधि हो भन्ने महसुस गराउन यसले सहज हुने भन्दै उनले आफ्ना नागरिक तथा परिवारको सदस्यको जानकारी समेत थाहा पाउन सजिलो हुने बताए । यसका लागि केही दिनभित्र निर्देशिका लगायतका काम सुरु हुने जानकारी दिए ।

सोही अवसरमा उनले आफ्नो चारवर्षे कार्यकालमा मुख्यगरी चार महत्वपूर्ण विषयमा केन्द्रित रहेर काम गर्ने जानकारी दिए ।

नेपाल र जापानबीचको सम्बन्धलाई थप नयाँ उचाईमा पुर्‍याउने, जापानबासी नेपाली तथा जापानी नागरिक स्तरमा धार्मिक, सांस्कृतिक, व्यवसायिकसहित बहुआयामिक सहयोग तथा सदभाव कायम राख्दै यसलाई नयाँ तवरले मजबुत सम्बन्ध अभिवृद्धि गर्न पहल गर्ने बताए ।

यसैगरि सरकारी स्तरबाट नेपालको फोहोरमैला व्यवस्थापन र विपद् व्यवस्थापनका लागि सहयोग जुटाउन औपचारिक रुपमा कुराकानी अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै राजदूतावासबाट प्रदान हुने सेवालाई सरल, सहज र छिटाछरितो बनाउन ‘नो टुमरो पोलेसी’ (आजको काम आजै) कार्यान्वयन गर्ने बताए ।

हाल राहदानी सेवा (पासपोर्ट) नवीकरण तथा नयाँ बनाउन दैनिक ३२ जना नेपाली सेवाग्राहीले सेवा लिइरहेकामा यसलाई बढाएर दोब्बर बनाउने तयारी गरेको जानकारी दिए ।

यस्तै ई–पासपोर्ट बनाउन हाल दूतावासमै आउनु पर्ने अवस्थालाई घटाउन नेपालीहरुको घनत्व रहेका स्थानमा मोबाइल घुम्ती सेवा पु¥याउने तयारी गरिरहेको जानकारी दिए । यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र स्थानीय स्तरमा रहेका नेपाली संघसंस्थासँग सहकार्य गरेर काम गर्ने बताए ।

बेलायतमा साढे चार वर्ष राजदूतको कार्यकाल पूरा गरेको अनुभव सुनाउदै राजदूत सुवेदीले जापानजस्तो निकट सम्बन्ध भएको देशमा पुनः राजदूत भएर आएपश्चात रचनात्मक र सहज सेवा प्रदान गर्न सकिने विविध विषयमा तयारी गरिरहेको दाबी गरे ।

टेलिफोन सेवा सहज बनाउन हटलाईन

यसैबीच राजदूत सुवेदीले जापानको टोकियोस्थित दूतावासमा सेवाग्राहीले फोन गर्दा झन्झट रहेको गुनासोलाई सम्बोधन गर्न जतिबेला पनि कुराकानी गर्न दूतावास हटलाईन सेवा संचालन गर्ने तयारी गरेको जानकारी दिए ।

यसैगरि सामाजिक संजालबाट समेत गुनासो र सेवाबारे जानकारी प्रदान गर्न अफिसियल नयाँ ट्वीटर र पुरानो फेसबुक पेजलाई सुचारू गरिएको जानकारी दिए ।

उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी

यसैबीच राजदूत सुवेदीले दूतावासका सूचना तथा आवश्यक जानकारीका लागि उपनियोग प्रमुख समेत रहेका अम्बिकाप्रसाद जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी समेत थप गरिएको जानकारी दिए ।

समारोहमा दूतावसाका उपनियोग प्रमुख अम्बिकाप्रसाद जोशी, प्रथम सचिव जीतबहादुर कार्की र तृतीय सचिव ज्ञानहरि ज्ञवालीको सहभागिता थियो ।

यस्तै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, उपाध्यक्षद्वय पूर्ण चलाउने, कुमार मोक्तान, कोषाध्यक्ष आनन्द कोइराला, सदस्य विश्वास आचार्य, संचारकर्मी शिक्षा शान्ति वाईबा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?