जापानमा ९२ वर्षीया वृद्धाको घाँटी थिचेर हत्या, आत्महत्याको कोशिस गर्ने छोरा कोमामा

|

जापानको टोकियोमा आफ्नै घरमा एक ९२ वर्षीया वृद्धा मृत अवस्थामा भेटिएकी छन् भने उनका ५९ वर्षीय छोरा कोमामा पुगेका छन् ।

छोराले ओछ्यानमा सुतेकी आमाको हत्यापछि आत्महत्याको कोशिस गरेको प्रहरीको अनुमान छ ।

सोमबार बिहान १० बजेतिर एक जना डाक्टर कात्सुशिकास्थित घरमा पुग्दा ढोकामा टाँसिएको एउटा नोट भेटे । जसमा लेखिएको थियो– कृपया प्रहरीलाई फोन गर्नुहोस् । मलाई माफ गर्नुहोस् ।’

घरको पहिलो तलामा फुसाको माइहरा नामकी महिला र अर्को कोठामा उनका छोरा गम्भीर अवस्थामा भेटिएका थिए ।

उनलाई तत्काल अस्पताल पुर्‍याउँदा चिकित्सकले निद्राको औषधिको अत्यधिक सेवन गरेको बताएका थिए । उनी अचेत अवस्थामा छन् ।

प्रहरीले आमाको हेरचाह गर्ने छोरामात्रै रहेको र उनैले हत्या गरेको हुनसक्ने जनाएको छ । प्रहरीले सोधपुछका लागि छोरा निको नभएसम्म पर्खिने जनाएको छ ।