जापानी प्रधानमन्त्रीको हत्याको धम्कीपूर्ण ट्विट गर्नेमाथि मुद्दा चलाइने

जापानका प्रधानमन्त्री फुमियो किशिदाको हत्या गर्ने धम्कीपूर्ण ट्विट गर्ने व्यक्तिमाथि मुद्दा चलाइने भएको छ ।

जापानको चिबाका एक ४८ वर्षीय व्यक्तिले सिधै हत्याको धम्की नदिई ट्विटमार्फत पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय श्रद्धान्जली भए किशिदा अर्को व्यक्ति हुने टिप्पणी गरेका थिए ।

उनले ट्विटमा भनेका थिए, ‘राजकीय श्रद्धान्जली गरियो भने किशिदा अर्को हुनुपर्छ ।’ जापानका ५६ प्रतिशत जनता पूर्वप्रधानमन्त्री आबेको राजकीय अन्त्यष्टि र श्रद्धान्जली कार्यक्रमको विपक्षमा देखिएका छन् ।

गत जुलाईमा जापानमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला आबेको एक व्यक्तिले नारा सहरमा हत्या गरेका थिए ।

किशिदालाई पनि सोही घटनातर्फ लक्षित गरी ट्विट गरेको भन्दै ती व्यक्तिमाथि मुद्दा चलाउने तयारी भएका हो । ती व्यक्तिले आफूमाथि लागेको अभियोग स्वीकार गरेको बताइएको छ ।

सरकारले सरकारी कोषको पैसा खर्च गरेर राजकीय अन्त्येष्टि र श्रद्धान्जली कार्यक्रम गर्न सक्छ भने गरिबहरुलाई सहयोग गर्नुपर्ने आफ्नो धारणा रहेको उनले दाबी गरेका छन् ।

जापानमा आबेको राजकीय श्रद्धान्जलीका विषयलाई लिएर विवाद देखिएको छ । यद्यपि सरकारले २५ करोडभन्दा बढी खर्च गरेर आबेको श्रद्धान्जली कार्यक्रम गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?