
पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या प्रकरणलाई लिएर जापानका प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।
नेशनल प्रहरी विभागका प्रमुख इतारु नाकामुराले राजीनामाको घोषणा गरेका हुन् ।
चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गत महिना जापानको नारा सहरमा पूर्वप्रधानमन्त्री आबेको एक व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
उनको हत्यालाई लिएर सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको थियो । जापानमा यसप्रकारका अपराधका घटना बिरलै हुने गर्छन् ।
नाकामुराले सो घटनामा सुरक्षा कमजोरी भएकोमा जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका हुन् ।
पूर्वप्रधानमन्त्री आबेको सुरक्षामा केही सेकेण्डको कमजोरीका कारण आबेको हत्या भएको भन्दै एनपीएले प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदन आएलगत्तै उनले राजीनामा घोषणा गरेका हुन् ।
उनले आबेको हत्यालाई गम्भीर रुपमा लिएको बताउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन दोहोरो सुरक्षा प्रणालीको जाँज गर्नुपर्ने उनले बताएका छन् ।