
जापानमा आमाछोरीमाथि चक्कु प्रहार गरी भागेका संदिग्ध व्यक्तिको ट्रेनको ठक्करबाट मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबारराति किताक्युशुमा घर फर्किएका ३७ वर्षीय महिला र उनकी १५ वर्षीय छोरीमाथि एक व्यक्तिले चक्कु प्रहार गरेका थिए ।
राति करिब १० बजे महिला र उनकी छोरी घर फर्किएका थिए । उनीहरु घर फर्किएपछि एक व्यक्ति ढोकाबाट बाहिर निस्किए र दुवैको पेटमा छुरा प्रहार गरेर भागेको समाचार संस्था क्योदोले जनाएको छ ।
चक्कु प्रहार गरिएका आमाछोरीको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
त्यसको करिब ३० मिनेटपछि जेआर मिनामिकोकुरा स्टेशननजिकै एक व्यक्ति रेलको ठक्करबाट मारिए ।
प्रहरीले मारिएका व्यक्तिको विवरण प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार चक्कु प्रहार गर्ने व्यक्तिसँग मेल खाने बताएको छ ।