जापानको ५ दिने भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता

जापानको ५ दिन लामो भ्रमण पूरा गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । साउन २१ गते जापान गएका प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च, जापानले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

जापान भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सहभागिता जनाउनुका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रर्वद्धन, पुनर्निर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अवलोकन गरे ।

जापान भ्रमणका क्रममा उनले दोस्रो विश्व युद्धमा आणविक बमले ध्वस्त पारिएको हिरोसिमा शहरमा अवस्थित शान्ति स्मृति संग्रहालयको अवलोकन गर्नुुका साथै युद्ध पछिको पुनर्निर्माणका बारेमा जानकारी लिएका थिए ।

यस्तै उनले नेपाली जनप्रगतिशील मञ्च, जापानले टोकियोमा आयोजना गरेको ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन समेत गरे ।

साउन २३ गते साइतामा प्रान्तीय सरकारको कृषि व्यवसाय प्रवद्र्धन विभाग अन्तर्गतको कुुरौसुु अर्किड लिमिटेडको अर्किड नर्सरी अवलोकन गरे । सो अवसरमा उनले कृषिलाई आधुुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकिरण र व्यवसायीकरण गर्दै नेपाली अर्थतन्त्रलाई सबल बनाउन आवश्यक भएको बताए ।

सोही दिन जापानी संसद ‘डायट’ को अवलोकन गर्नुका साथै जापानी संसदीय प्रणालीको विशेषता र राजनीतिक दलहरुको स्थितिको जानकारी लिएका थिए ।

मंगलबार उनले जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री, संसद एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँग एलडीपीको मुख्यालय टोकियोमा भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा दुुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने, जनस्तरको सम्बन्धलाई विस्तार गर्ने, स्थानीय सरकार र नगरहरुको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको थियो ।

बुधबार नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नो भ्रमण सफल भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?