
जापानको जनसंख्या १ जनवरी, २०२२ सम्ममा ऐतिहासिक रुपमा गिरावट भएर १२ करोड ५९ लाख ३० हजार भएको छ ।
जापान सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०१३ मा तुलनात्मक तथ्यांक प्राप्त भएपछिको ऐतिहासिक गिरावट हुँदै ७ लाख २६ हजार ३४२ ले घटेको हो ।
मृत्यु हुनेको संख्या, कोभिड–१९ को महामारीका कारण विदेशीको संख्या घटेका कारण पनि जापानको जनसंख्यामा गिरावट देखिएको हो ।
जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार गत वर्षको तुलनामा ०.५७ प्रतिशतले जनसंख्या कम भएको छ । जापानको हालको जनसंख्या विदेशीसहित १२ करोड, ५९ लाख २७ हजार ९०२ रहेको छ ।
ओकिनावा बाहेक जापानका ४७ वटै प्रान्तमा जनसंख्या घटेको पाइएको छ । साइतामा, चिबा र कानागावामा सन् २०१३ पछि पहिलोपटक जनसंख्या घट्दा सिंगो देशको जनसंख्यामा नै असर परेको हो । जन्मदर सुधार गर्न जापान सरकारले विभिन्न योजना अघि सारे पनि त्यसले जनसंख्यको कमीलाई अन्त्य गर्न सहयोग गरिरहेको छैन ।
जापानीहरुको जनसंख्या ६ लाख १९ हजार १४० ले घटेर १२ करोड, ३२ लाख २३ हजार ५६१ भएको छ । जापानको जनसंख्या घटेको यो लगातार १३औं वर्ष हो । पछिल्लो तथ्यांकअनुसार १४ लाख ४० हजारको मृत्यु हुँदा ८ लाख १० हजार बच्चा जन्मिएका छन् । यो जापानको इतिहासकै सबैभन्दा कम जन्मदर हो ।
विदेशीको जनसंख्या १ लाख ७ हजार २०२ ले घटेर हाल २७ लाख ४ हजार ३४१ मा आइपुगेको छ । कोरोना महामारीका कारण सीमा नियन्त्रण गर्दा लगातार दोस्रो वर्ष विदेशीको जनसंख्यामा कमी आएको हो । प्रान्तहरुका आधारमा टोकियोमा सबैभन्दा बढी ४८ हजार ५९२ कमी देखिएको छ ।
आकितामा १.५२, आओमोरीमा १.३५ र यामागाता प्रान्तमा १.२५ प्रतिशतले जनसंख्या कम भएको पाइएको छ । ओकिनावामा भने १८६ जनाले जनसंख्या बढेको छ । जनसंख्या वृद्धि देखिएको ओकिनावा एउटामात्रै प्रान्त हो ।
जापानमा ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुको जनसंख्या ०.२७ प्रतिशतले बढेको छ । कुल जनसंख्याको २९ प्रतिशत ६५ वर्षमाथिका व्यक्तिहरुको छ । १५–६४ वर्ष उमेर समूहका मानिसको संख्या ५८.९९ प्रतिशत छ । जुन ०.१० प्रतिशतले घटेको हो ।