दूतावासमा उफ्रेर हिँड्नुपर्ने अवस्था छ, फोन उठ्ने अवस्था नभएसम्म मोबाइल बोक्दिन : राजदूत सुवेदी

जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाली राजदूतावासले प्रदान गर्ने राहदानी, भिसा लगायत कन्सुलरका सेवाहरुलाई चुस्त, दुरुस्त, सरल, सहज र सुलभ बनाउने प्रतिबद्धता जनाएका छन् ।

जापानको राजधानी टोकियोमा आयोजित समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजदूत सुवेदीले सो कुरा बताएका हुन् ।

उनले जापानसँगको सामाजिक, साँस्कृतिक, धार्मिक, राजनीतिक सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने, अझै सुदृढ र सुमधुर बनाउने, नेपालको आर्थिक, सामाजिक, प्राविधिक, शैक्षिक सहयोगलाई निरन्तरता र अभिवृद्धि, व्यापार, पर्यटनजस्ता कुरालाई प्रवद्र्धन गर्ने, नेपाली र जापानीबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

उनले आफूले राजदूत भएर जापान आएलगत्तै आजको काम आजै भन्ने नीति लिएको उल्लेख गर्दै बेलायतमा राजदूत हुँदा पनि सफलतापूर्वक कार्यान्वयन गरेकाले जापानमा पनि यो नीति कार्यान्वयन गर्ने बताए ।

उनले राहदानी र भिसाका सुविधालाई नेपाली रहेका प्रान्त, नगरहरुमा घुम्ती सेवामार्फत पुर्‍याउने, राजदूतावासमा कसैलाई विभेद नगर्ने नीति लिइने बताए ।

उनले जापानमा एक लाख २३ हजार नेपाली रहेको उल्लेख गर्दै राजदूतसहित ४ कर्मचारी रहेकाले पानी खाने फुर्सद समेत नभएको, कार्यालयमा पासपोर्टका फाइल र कागजातहरूले भरिएर टेक्ने ठाउँ नहुँदा राजदूत नै उफ्रेर हिँड्ने अवस्था रहेको टिप्पणी गरे ।

उनले महिनाको दुई करोड राजस्व आम्दानी गर्ने राजदूतावासलाई वर्षको ३६ लाख खर्च थपिदिने व्यवस्था आफ्नै अर्थमन्त्रीलाई झक्झक्याइदिन कार्यक्रममा सहभागी माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरे । उनले दूतावासमा फोन उठ्दैन भन्ने गुनासो रहेको भन्दै फोन उठ्ने व्यवस्था नभएसम्म आफूले मोबाइल फोन नबोक्ने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?