जापानका लागि नवनियुक्त राजदूत डा.दुर्गाबहादुर सुवेदीले जापानको परराष्ट्र मन्त्रालयमा जापान सरकारका उपविदेशमन्त्री ताकेओ मोरी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
त्यसलगत्तै राजदूत सुवेदी र उपविदेशमन्त्री मोरीबीच शिष्टाचार भेटवार्ता समेत भएको छ । भेटका अवसरमा दुई देशबीचको घनिष्ट राजनीतिक, कूटनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धको चर्चा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
सोही अवसरमा राजदूत सुवेदीले पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना समेत व्यक्त गरे ।
जापानी उपविदेशमन्त्री मोरीले जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारले एक दिन राष्ट्रिय शोक बनाएकोमा कृतज्ञता प्रकट गरे ।
उनले नेपाल र जापानबीच सदियौदेखि मित्रता कायम रहेको र जापानीहरुका लागि नेपाल एक महत्वपूर्ण पर्यटकीय र सांस्कृतिक गन्तव्य रहेको बताए ।
सो अवसरमा मोरीले नेपालको आर्थिक र सामाजिक विकासमा जापान सरकारको सहयोग निरन्तर रहेने प्रतिबद्धता समेत जनाए ।
जापानका लागि नेपाली राजदूदमा नियुक्त भएकोमा सुवेदीलाई बधाई ज्ञापन गर्दै उनले जापानको परराष्ट्र मन्त्रालय र जापान सरकारका तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाए ।
उपविदेशमन्त्री समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुअघि राजदूत सुवेदीले शिष्टाचार महापाल शिनो मित्सुकोसँग उनकै कार्यकक्षमा भेट गरेका थिए ।
