नेपाली चलचित्र ‘प्रेम गीत–३’ सेप्टेम्बर २५ बाट जापानभर प्रदर्शन हुने

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ सेप्टेम्बर २५ तारिखदेखि जापानभर प्रदर्शन हुने भएको छ ।

‘प्रेम गीत’ र ‘प्रेम गीत–२’ बक्स अफिसमा सफल भएपछि प्रेम गीत–३ को चर्चा चुलिएको थियो ।

स्व.छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा रहेको यो चलचित्र कोरोना भाइरसको महामारीका कारण रिलिज हुन सकेको थिएन ।

प्रेम गीत–३ हिन्दी भाषामा पनि डब भएर एकै पटक नेपाल र भारतमा रिलिज हुँदैछ । चलचित्रको हिन्दी संस्करणको नाम भने ‘विश्वजितम’ राखिएको छ ।

चलचित्र प्रेम गीत–३ आगामी सेप्टेम्बर २३ मा विश्वभर रिलिज हुने घोषणा भएको छ । जापानमा भने सेप्टेम्बर २५ बाट मात्र प्रदर्शनींमा आउने खाबुसिकी खाईस्या सेभेन सामुराई इन्टरनेशनलका संचालक तथा प्रबन्धक रेशमकुमार डंगोलले जानकारी दिए ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतमलगायतको अभिनय छ ।

यस चलचित्रको सेभेन सामुराईले जापानको अफिसियल बिक्रेताको अधिकार पाएको छ ।

नेपालको काठमाडौं र जापानको सिजुओका केनको सिजुओका सीमा रहेको सेभेन सामुराई कम्पनीले कन्सल्टेन्सी, जिन्जाई स्योकाई, क्योदो कुमिआई, रेस्टुरेन्ट, हलाल फुडलगायत विभिन्न सेवाहरु दिँदै आएको छ ।

यस चलचित्रको प्रदर्शनीमा नेपाली लगायत विभिन्न देशमा मनि ट्रान्सफर सेवा दिँदै आएको सिटी एक्सप्रेस जापानले पनि इभेन्ट पार्टनर र ग्लोबल मल्टीमिडिया प्रा.लिले व्यवस्थापन गरेको छ ।

सेभेन सामुराई इन्टरनेशनल कम्पनी, सिटी एक्सप्रेस जापान र ग्लोबल मल्टिमिडियाको संयुक्त सहकार्यमा हुने प्रेम गीत ३ को जापान शो जापानका १० शहरमा निश्चित भए पनि २३ शहरमा शो गर्ने योजना रहेको सेभेन सामुराई कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?