जापानले ५ हजारभन्दा बढी नेपाली कामदार लैजाने

जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी नेपाली कामदार लैजाने भएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीलाई जापानमा रोजगारीका लागि लैजाने विषयमा छलफल गर्न बसेको संयुक्त कार्यसमितिको बैठकमा जापान नेपाली कामदार लैजान तयार भएको हो ।

नेपाली कामदारलाई जापानमा पठाउन छिटो कार्यविधि बनाउन समेत जापानले आग्रह गरेको छ ।

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण नेपालीलाई सकेसम्म छिटो जापान लैजाने विषयमा सहजीकरण गर्ने सहमति पनि कार्यसमितिको बैठकमा भएको छ ।

बैठकमा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्न तयारी अघि बढाउने पनि सहमति भएको छ ।

जापानको एसएसडब्लू प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने सहमति समेत भएको छ ।

योसँगै यसअघि नेपालले बनाएर मन्त्रिपरिषद्बाट पास गरेको कार्यविधि जापानले अस्वीकार गरेको देखिएको छ ।

बैठकमा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव डा.थानेश्वर भुसाल सहभागी थिए ।

जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधि मण्डलको सहभागी थियो ।

बैठकपछि जापानी टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँग पनि भेटवार्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?