भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० नेपाली छिट्टै जापान जाँदै

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० नेपाली नागरिकहरु रोजगारीका लागि छिट्टै जापान जाने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली छिट्टै जापान जान पाउने जानकारी दिएको छ ।

मन्त्रालयले जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० नेपाली नागरिकलाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

सन् २०१९ मार्चमा भाषा र सीप परीक्षा लिएर नेपाली नागरिकलाई जापानमा वैदेशिक रोजगारको अवसर दिने नेपाल सरकार र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सोही अनुसार जापानका १४ विभिन्न पेसागत क्षेत्रमा रोजगारका लागि नेपाली कामदान जान पाउनेछन् ।

मन्त्रालयले नेपालीलाई रोजगारका लागि जापान पठाउने प्रक्रियाको विषयमा कार्यसमिति बनाएको थियो । मन्त्रालयका सहसचिव राजीव पोखरेलको संयोजकत्वमा रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा.थानेश्वर भुसाल सदस्य छन् ।

त्यस्तै, जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावा नेतृत्वको प्रतिनिधिमण्डल बनेको छ । समितिले बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापान रोजगारमा पठाउन मन्त्रालयलाई सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?