जापानमा आर्जन गरेको सिप र पुँजी नेपालको विकासमा प्रयोग गर्न आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानमा रहेका नेपालीहरुलाई आर्जन गरेको ज्ञान, सिप र पुँजी नेपालको विकासमा प्रयोग गर्न अनुरोध गरेका छन् ।

जापानको राजधानी टोकियोमा आयोजित १२औं नेपाल फेस्टिवलको उद्घाटन गर्दै उनले एकजुट भएर देशको विकासमा आफ्नो ज्ञान, सिप र पुँजीको परिचालन गर्न अनुरोध गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले नेपालको कला, संस्कृति, भेषभूषा, रीतिरिवाज आदिको प्रवद्र्धन एवं. संरक्षणका लागि नेपाल फेस्टिवल आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

नेपाल र जापानबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको सामाजिक, आर्थिक लगायत समग्र विकासमा मित्रराष्ट्र जापानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए ।

जापानका रहेका नेपालीहरु नेपालको विकासका लागि अग्रसर रहेको आफूले पाएको समेत बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै जापानको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व तथा दक्षिण पश्चिम एसिया मामिला विभागका महानिर्देशक ताकेहिरो कानोले सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं. प्रगाढ बन्दै गइरहेको बताए ।

एक लाखभन्दा बढीको संख्यामा जापानमा बसोबास गर्ने नेपालीहरु दुई देशबीचको सम्बन्धको मेरुदण्ड भएको र जापानको विकासमा नेपाली समुदायको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गरे । साथै आगामी दिनमा नेपाल–जापान सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

नेपाली राजदूतावास, जापानका कार्यवाहक राजदूत अम्बिका जोशीले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गर्दै चर्को गर्मी र कोभिड–१९ को संक्रमण उच्च रहेको कठिन समयमा पनि कार्यक्रममा सहभागिता जनाएकोमा धन्यवाद दिए ।

नेपाल भौगोलिक एवं. साँस्कृतिक रुपले विविधतायुक्त भएको उल्लेख गर्दै विविधताबीच कायम एकता उदाहरणीय रहेको बताए ।

सबैखाले पर्यटकहरुका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै जापानी लगायत अन्य विदेशी मित्रहरुलाई नेपाल भ्रमणका लागि आमन्त्रण समेत गरे । उनले जापानमा नेपाली विद्यार्थी आगमनको १२० औं वर्षगाँठलाई स्मरण गर्दै नेपाल–जापान सम्बन्धका हिसाबले सन् २०२२ विशेष महत्वको वर्ष रहेको पनि उल्लेख गरे ।

कार्यक्रमलाई नाकानो वार्डका प्रमुख साकाई नाओतोले सम्बोधन गर्दै नाकानो वार्डमा उल्लेख्य उपस्थिति रहेको नेपाली नागरिकहरुसँग वार्डको सुमधुर सम्बन्ध रहेको र त्यहाँ बसोबास गर्ने नेपालीहरुलाई वार्डको तर्फबाट सधैं सहयोग गर्ने विश्वास दिलाए ।

गैरआवासीय नेपाली संघ, जापानका अध्यक्ष शिवप्रसाद पौडेलले कार्यक्रम आयोजना गर्न सहयोग पु¥याउने सबैप्रति धन्यवाद व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष संगीता अधिकारी सुवेदी र महासचिव सिद्धार्थ श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमलाई फेस्टिवलका इभेन्ट पार्टनरहरु रविन शेरचन र साहो स्युइचीले समेत सम्बोधन गरेका थिए ।

जापानमा रहेको नेपाली समुदायलाई लक्षित गरी गैरआवासीय नेपाली, जापानकी सचिव एलिजा केसी भण्डारीले नेपाली भाषामा तयार पारेको भूकम्प प्रकोप पूर्वतयारी पुस्तिका पनि कार्यक्रममा विमोचन गरिएको थियो ।

नेपाली परम्परा र संस्कृति झल्काउने विभिन्न झाँकी, गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको उद्घाटन समारोहमा टोकियोस्थित विभिन्न राजदूतावासका कूटनीतिक प्रतिनिधिहरु, नेपालका लागि पूर्वजापानी राजदूत लगायत ठूलो संख्यामा नेपाली तथा जापानी नागरिकहरुको उपस्थिति रहको थियो ।

नेपाली राजदूतावास, जापान र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानले संयुक्त रुपमा आयोजना गरेको १२औं नेपाल फेस्टिवल आइतबार (३१ जुलाई) मा समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?