१२औं नेपाल फेस्टिवल आजदेखि सुरु हुँदै, के-के छन् आकर्षण ?

जापानको राजधानी टोकियोमा दुई दिन सञ्चालन हुने ‘१२औं नेपाल फेस्टिवल’ आजदेखि सुरु हुँदैछ ।

गैर अवासीय नेपाली संघ (एनआरएनए) जापानको मुख्य आयोजनामा आज र भोलि टोकियोको नाकानोस्थित सिकिनो मोरी पार्कमा फेस्टिवल आयोजना हुन लागेको हो ।

नेपालको पर्यटन प्रवद्धएन र जापानमा नेपाली कला, संस्कृति चिनाउने उद्देश्यले आयोजना गरिएको फेस्टिबलको उद्घाटनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना जापाना आइसकेका छन् ।

नेपाली कला, संस्कृति, भेषभुषा, बाजा आदिको आकर्षण रहेको नेपाल फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको एनआरएन जापानका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फेस्टिवलका आर्थिक कमिटी संयोजक नविन निउरेले जानकारी दिए ।

फेस्टिवलको उद्घाटनमा जापानको परराष्ट्र मन्त्रालयका एसिया विभाग प्रमुख कानो ताकिहिरो नाकानो, नाकानो सिटीमा मेयर साकाई नाओतोलगायतको समेत सहभागिता रहनेछ ।

फेस्टिवलमा मौलिक नेपाली गीत, संगीत, नृत्य एवं विभिन्न सांस्कृतिक रीतिरिवाजहरु प्रस्तुत गरिनुका साथै रेस्टुरेन्ट, रेमिट्यान्स तथा विद्यालयजस्ता सेवा प्रदायक कम्पनीहरुका स्टलसमेत रहनेछन् ।

जापानस्थित नेपाली राजदूतावासको समेत सहयोग रहने फेस्टिवल आज र भोलि बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?