एनआरएनए जापानको सदस्यमा पनेरुको उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकालका लागि राजु पनेरुले कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

गोरखा स्थायी ठेगाना भएका पनेरुले आफ्ना १३ बुँदे प्रतिवद्वता सहित उम्मेदवारी घोषणा गरेका हुन् । पनेरुले आफु निर्वाचित भए जापानमा सिके जानेको ज्ञान र शीप नेपालमा भित्राउन पहल गर्ने, जापानमा पनि लगानीका फरक फरक क्षेत्र पहिचान गरि नेपालीको लगानी बढाउन पहल गर्ने बताएका छन् ।

उनले आफ्नो प्रतिवद्धता पत्रमा नेपालबाट आयात गरिने सामानहरु चिया, कफी, गार्मेन्ट लगायत अन्य विविध खाले नेपाली उत्पादनको प्रवद्धनका लागि एनआरएन जापानका तर्फबाट विशेष लगानीको वातावरणको पहल गर्ने पनि उल्लेख गरेका छन् ।

उनले जापानमा रहेका हरेक नेपालीको उपचारका लागि आवश्यक खर्चको व्यवस्था एनआरएन मार्फत् गराउने महत्वाकांक्षी योजना पनि बनाएका छन् । यसका लागि जापानमा रहेका करिब ७० हजार नेपालीसँग महिनाको एक सय जापानी येन उठाउने पनि उल्लेख गरेका छन् ।

यस्तै एनआरएनएका बालबालिकालाई नेपाली संस्कृति र संस्कारका बारेमा जानकारी दिलाउनका लागि एनआरएनए मार्फत् विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

पनेरुले जापानमा रहेका नेपाली समुदायमा दिनानुदिन बढेको आत्महत्या टाउको दुखाईको विषय बन्दै गईरहेको उल्लेख गर्दै आत्महत्या न्यूनिकरणका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूसँगको समन्वयमा बिभिन्न कार्यक्रमहरू संचालन गर्न पहल गर्नेछ प्रतिवद्धता पनि जनाएका छन् ।

उनले दोहोरो नागरिकता भएकाहरुको समस्या पहिचान गरि त्यस्ता पुर्वनेपालीहरुको समस्या समाधानका लागि पहल गर्ने पनि उल्लेख गरेका छन् । उनले आफु निर्वाचित भए एनआरएनए जापानलाई पारदर्शी, मितव्ययी र सबैको साझा संस्थाका रुपमा विकसीत गराउन भुमिका खेल्ने प्रतिवद्धता जनाउँदै एनआरएनए जापानलाई ७० हजार जापानवासी नेपालीको साझा संस्था निर्माणका लागि आफ्नो अभियानमा साथ दिन पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?