‘गलत पात्र र प्रवृतिलाई निरुत्साहित पार्न मलाई भोट’ नारासहित श्रेष्ठले गरे उम्मेदवारी घोषणा

टोकियो । विगत आठ वर्षदेखि जापानमा रहेर व्यवसाय गर्दै आइरहेका उत्तम कुमार श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

आफ्नो व्यवसायसँगै सामाजिक कार्यलाई पनि प्राथमिकता दिदै आएका श्रेष्ठले एनआरएनए जापान मार्फत् आफ्नो अभियानलाई तिब्रता दिनका लागि उम्मेदवारी दिन लागेको बताए ।

रामेछाप समाज जापानको अध्यक्ष समेत रहेका श्रेष्ठ सामाजिक कामका लागि जापानका निरन्तर खटिरहने युवा हुन् । श्रेष्ठले सामाजिक काममा आफुले प्राप्त गरेका अनुभवका आधारमा अझै केही विशेष कार्य गर्नका लागि एनआरएनए जापानको कार्यसमिति सदस्यमा उम्मेदवारी दिन चाहेको बताएका छन् ।

उनले एनआरएनए जापानका सदस्यहरुलाई काम गर्न सक्ने, अनुभवि र नयाँ सोच विचार भएकालाई मात्र जिताउन पनि आग्रह गरेका छन् । श्रेष्ठले आफु एनआरएनए जापान मार्फत् केही सामाजिक कामहरुलाई अगाडि बढाउने सोचमा रहेको र एनआरएनए जापानलाई सबैको साझा चौतारीका रुपमा विकशित गराउने सोचका साथ एनआरएनए अभियानमा जोडिन लागेकाले आफुलाई अवसर दिन पनि आग्रह गरेका छन् ।

उनले एनआरएनए भित्र रहेर गुटबन्दी गर्ने र एनआरएन जस्तो पवित्र संस्थालाई राजनीति गर्ने थलोका रुपमा परिणत गर्न खोज्नेहरुलाई निरुत्साहित गर्न पनि एनआरएनए अभियानसँग सम्वन्धित सबैलाई आग्रह गरेका छन् । श्रेष्ठले आफ्नो अमुल्य मत हाल्दा एक पटक विचार गरेर मात्र मतदान गर्न पनि आग्रह गरेका छन ।

उनले ‘गलत पात्र र प्रवृतिलाई निरुत्साहित पार्न मलाई भोट’ भन्ने नारा सहित उम्मेदवारी घोषणा गरेका हुन् । अधिवेशन यहि अगष्ट १३ तारिख टोकियोमा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?