नेपाल सुरक्षित छ भन्दै जापानीले थाले अभियान

काठमाडौं । महाभूकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माण भएको पहिलो विश्व सम्पदा हो, बौद्धनाथ स्तुप । त्यहींबाट अब नेपाल सुरक्षित छ भन्ने अभियान छेडे केही जापानी नागरिकहरूले ।

नेपाली पत्रकार माझ ‘मेरी नेपाल’, अर्थात ‘ह्याप्पी नेपाल’ लेखिएका टिसर्ट र बालबालिकाको हाँसोसहितको तस्बिर भएको छातासहित बिहीबार अभियान थालिएको हो । भूकम्पपछि असुरक्षित महसुस गर्दै नेपाल भ्रमणमा आउन हिच्किचाउने विश्वभरका नागरिकलाई लक्षित गरी जापानी नागरिक मिजुतानी कोजीले अभियान सुरु गरेका हुन् ।

‘भूकम्पपछि नेपाल भ्रमणमा आउन जोकोही विदेसी नागरिक डराइरहेका छन् । उनीहरूलाई नेपाल सुरक्षित छ, नेपाली खुसी छन् । तिमीहरू नेपाल भ्रमणमा आउनु पर्छ भन्ने सन्देश दिन मेरी नेपाल अभियान थालिएको हो,’ कोजुले भने ।

नेपाल सुरक्षित छ र नेपाली खुसी छन् भन्ने सन्देश दिई नेपालमा पर्यटक बढाउनु अभियानको मुख्य उद्देश्य हो । ‘हसिलो मुहार भविष्यको आसा हो, नेपालको भविष्य राम्रो छ, भूकम्पको पीडालाई पराजित गर्दै नेपाली खुसी छन, उनीहरू विकासको बाटोमा छन भन्ने मेरी नेपाल अभियानको मुख्य सन्देश हो,’ कोजु भन्छन ।

यही सन्देश फैलाउन जिसीआइ फाउन्डेसनले कार्यक्रमको संयोजन गरेको थियो । कार्यक्रममा करिब ५० जना पत्रकारले अभियानमा ऐक्यबद्धता जनाएका थिए । उनीहरूले मुस्कुराई रहेको तस्बिर खिचाएर नेपाल सुरक्षित छ भन्ने सन्देश दिएको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले बताए ।
बौद्धनाथ स्तुपबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आयोजित कार्यक्रममा मुस्कानसहितको तस्बिर खिचिएको छ । ती तस्बिरलाई युरोप, अमेरिकालगायतका ३० राष्ट्रमा प्रदर्शनी गरी नेपाल भ्रमणको निमण्त्रणा दिइने अभियानकर्ता कोजुले जानकारी दिए ।कान्तिपुरबाट ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?