जापानमा सङ्कलित चार लाख अग्निपीडितलाई हस्तान्तरण

गुल्मी । गुल्मीको बडागाउँ गाविसका अग्निपीडितको लागि जापानमा संकलन गरिएकाे सहयोग रकम हस्तान्तरण गरिएकाे छ ।

गाविसका वडा नं १ र २ का अग्निपीडितको लागि बडागाउँ गाविस–४ जेगाँ निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत विष्णु पचभैया र शान्तिपुर गाविस–९ रेमी निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत होमबहादुर रानाको संयुक्त पहलमा जापानमा चार लाख सङकलन गरिएको हो ।

सङकलन गरिएको चार लाखको चेक गाविसकै वडा नं १ निवासी ९२ वर्षीया चमेली छन्त्यालद्वारा गाविस सचिव यमकान्त्त पौडेललाई हस्तान्तरण गरिएको छ ।

अहिलेसम्म पीडितका लागि रु एक करोड सात लाख ५६ हजार ५३५ सङ्कलन भएको गाविस सचिव यमकान्त्त पौडेलले जानकारी दिए ।

गत वैशाख १८ गते आगलागी हुँदा गाविसको वडा नं १, २ र ३ को बस्तीमा ४२ घर पूर्ण, सात घर आंशिक, वडा नं २ मा १५ घर पूर्ण, एक घर आंशिक गरी ५७ घर पूर्ण, आठ घर आंशिक गरी घर जलेर नष्ट भएका थिए भने वडा नं १ मा ५१ गोठ पूर्ण, वडा नं २ मा १७ गोठ पूर्ण वडा नंं ३ मा दुई गोठ गरी ७० गोठ पूर्ण जलेर नष्ट भएका थिए ।

आगलागीबाट वडा नं १ रु तीन करोड ८३ लाख ७५ हजार, वडा नं २ मा रु दुई करोड १० लाख वडा नं ३ मा रु दुई लाख ८० हजार गरी कुल रु पाँच करोड ९६ लाख ५५ हजार बराबरको क्षति भएको बडागाउँ अग्निपीडित राहत सङ्कलन तथा वितरण समितिका कोषाध्यक्ष हरि छन्त्यालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?