भूकम्पमा सहयोग गर्ने जापानीलाई धन्यवाद र नेपाल भ्रमणको निम्तो दिने कार्यक्रमको तयारी पूरा

Japan Thax Programeटोकियो । गत वर्षको बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा जापानीहरुले गरेको सहयोगलाई स्मरण गर्दै धन्यवादसहित नेपाल भ्रमणको निम्तो दिने कार्यक्रम मे २९ मा हुने भएको छ ।

यसअघि गत अप्रिल २५ मा विनाशकारी भूकम्प गएकै दिन पारेर यो कार्यक्रम गर्न लागिएको भएपनि जापानको कुमामोतो क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प गएपछि रोकिएको थियो ।

त्यसलगत्तै एनआरएनए जापानले भूकम्प प्रभावित कुमामोतो क्षेत्र पुगेर नेपाली खाना सहितको सहयोग गरेको थियो ।

जापानस्थित नेपाली दूतावासले पत्रकार सम्मेलन गरी विनाशकारी भूकम्पपछि नेपाललाई सहयोग गर्ने जापानी नागरिकलाई धन्यवाद दिन आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

जापानका प्रमुख शहरहरुसहित करिव २५ भन्दा बढी ठाउँमा धन्यवाद दिन मे २९ का दिन जापानमा रहेका नेपालीहरु सहभागी भएर कार्यक्रम संचालन गर्न लागिएको दूतावासले जनाएको छ ।

कार्यक्रममा सम्भव भएसम्म नेपाली राष्ट्रिय पोशाकमा सहभागी हुन नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले आग्रह गरे ।

जापानमा रहेका हजारौं नेपालीहरु आफ्नो राष्ट्रिय पोशाकसहित जापानको सडकमा उत्रिएर जापान र जापानी सरकारलाई धन्यवाद लेखिएका पोस्टकार्डहरु बाडेर प्रदर्शन गर्नेछन् ।

नेपाली राजदूतावास जापान, नेपाल पर्यटन बोर्ड र गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको एनआरएनए जापानले व्यवस्थापन गरिरहेको छ ।

नेपाली राजदूतावास जापानले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक राजदूत राजभण्डारी, एनआरएनए जापान अध्यक्ष थापा सहित एनआरएनए जापानका आइसिसि युवा प्रतिनिधि सदस्य लेलिन भट्टचन, उपाध्यक्ष देविलाल भण्डारी, सचिव बुद्धिराज घिमिरे, सदस्य प्रल्हादसिंह महत, सल्लाहकार जिज्ञान कुमार थापा, लिल गुरुङ लगायतको उपस्थिति थियो ।

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?