
राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा केही कठोर कदम चालिरहेको अमेरिकाले अब विदेशी विद्यार्थी र पत्रकारको भिसाको व्यवस्थालाई पनि थप कडा बनाउने भएको छ ।
गृह सुरक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अवैध आप्रवासन र भिसा दुरुपयोगलाई नियन्त्रण गर्न नयाँ नियम ल्याउन लागिएको उल्लेख छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विदेशीका लागि प्रस्तावित नियमहरूलाई अन्तिम रूप दिँदा धेरै भिसा धारकहरूको अमेरिका बसाई सीमित हुने र विदेशी विद्यार्थी समेत पर्ने उल्लेख छ ।
ट्रम्पले प्रस्ताव गरेको नयाँ निमय अनुसार विदेशी विद्यार्थी चार वर्षभन्दा बढी अमेरिका बस्न पाउने छैनन् भने विदेशी मिडिया कर्मचारीले २४० दिनको प्रारम्भिक अवधि पाउनेछन् । त्योभन्दा बढी बस्नु परेमा निवेदन दिनुपर्नेछ ।
यसअघि विदेशी विद्यार्थी र अन्य भिसा धारकहरूलाई लगभग अनिश्चित कालसम्म अमेरिकामा बस्न अनुमति दिएकाले सुरक्षा जोखिम बढ्नुका साथै अमेरिकी करदाताहरूको पैसाको ठुलो बर्बादी र अमेरिकी नागरिकहरूलाई हानी पुगिरहेको मन्त्रालयको दाबी छ ।
अमेरिकामा २०२४ मा एफ भिसामा १६ लाख विदेशी विद्यार्थी रहेको सरकारी तथ्यांक थियो । आर्थिक वर्ष २०२४ मा अमेरिकाले ३ लाख ३० हजार ‘एक्सचेन्ज भिजिटर’ र १३ हजार सञ्चार कर्मचारीलाई भिसा दिएको थियो ।







